गुल्मी। पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ।
गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ।
जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।

सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन्। सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखिनै उक्त स्थानमा स्काभेटर र जेसिभी परिचालन गरिएको बताए।
उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ। चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्डअन्तर्गत पर्दछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।