पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा ड्युटीमा खटिएकी नर्समाथि हातपात तथा कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आइतबार राति १२ः०५ बजे मादक पदार्थ सेवन गरी बिरामी कुरुवाका रूपमा अस्पताल पुगेका शर्माले अन्तरंग शाखामा अस्वाभाविक व्यवहार गर्दै अशान्ति मच्चाएका थिए। त्यसपछि ड्युटीमा खटिएकी २२ वर्षीया नर्सले उनलाई सम्झाइबुझाइ गर्दा शर्माले उल्टै गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा शर्मालाई सोही दिन बिहान अस्पतालबाटै पक्राउ गरिएको थियो। प्रहरीले शर्माविरुद्ध ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिएका छन्।




प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।