गत भदौ १० गते गएको भोटेकोसी बाढीले बगाएको धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा पक्की पुल निर्माणको माग गर्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई भेट्न गएका पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले भेट्न नपाएको गुनासो गरेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामनाथ अधिकारीले पुल निर्माणका लागि ज्ञापनपत्र बुझाउन गएको टोलीलाई मन्त्रीले भेट्न नचाहेको भन्दै आपत्ति जनाएका छन्।
अधिकारीले धादिङबाट विगतमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेता, पूर्वमन्त्री, संघीय तथा प्रदेश सांसद र प्रदेशमन्त्रीसहित १५–१६ जनाको टोली मन्त्रीलाई भेट्न गएको बताएका छन्। ‘हामी भदौ १० गते भोटेकोसी नदीले बगाएको फुर्केखोलाको पुलका सन्दर्भमा मन्त्रीकहाँ डेलिगेसन गएका थियौं,’ अधिकारीले नागरिकन्युजसँग भने, ‘मन्त्रीज्यूले ११ बजेका लागि समय दिनुभएको थियो। हामी ११ बजे नै पुगेर बस्यौं।’

उनले टोली आज बिहान ११ देखि दिउँसो सवा १ बजेसम्म मन्त्रीलाई कुरेर बसेको बताए। सुरुमा मन्त्री बैठकमा रहेको जानकारी दिइएको थियो। पछि मन्त्री प्रधानमन्त्रीकहाँ गएको जानकारी पाएपछि टोली फर्किएको अधिकारीले बताए। ‘११ बजेदेखि सवा १ बजेसम्म बसिसकेपछि मन्त्रीज्यू त प्रधानमन्त्रीकहाँ जानुभयो भनियो। अनि हामी उठेर आयौं,’ उनले भने।
मन्त्रीले भेट्न नचाहनुको कारण आफूहरूलाई जानकारी नभएको भन्दै अधिकारीले जनताको प्रतिनिधित्व गरेर मन्त्री बनेका व्यक्तिले पूर्वजनप्रतिनिधिहरूलाई गरेको व्यवहारप्रति घोर आपत्ति जनाए। ‘किन चाहनुभएन, उहाँहरूको नेचर के हो, त्यो कुरा हामीलाई केही पनि जानकारी भएन। यत्ति हो, जनताको प्रतिनिधित्व गरेर मन्त्री बनेका मान्छेले पूर्वजनप्रतिनिधिहरूलाई जुन ढंगले व्यवस्था गरियो नि, त्यो ज्यादै घोर आपत्ति छ,’ अधिकारीले भने।
यस्तै, उक्त डेलिगेसनमा सहभागी जनाएका पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले पनि आफूहरूलाई दुई घण्टा कुराएर फर्काइएको बताएका छन्। पुल निर्माणको मागसहित पूर्वाधार विकासमन्त्रीलाई भेट्न गएको टोलीलाई भेट्न नदिइएको भन्दै पाण्डेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत जनाए।
पाण्डेका अनुसार मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेसँग अघिल्लो दिन भेट गरी बुधबार बिहान ११ देखि १२ बजेसम्म मन्त्रीसँग भेट्ने समय लिइएको थियो। ‘हिजो सन्तोष पाण्डेसँग मैले भेटेर समय मागेँ। उहाँले आजलाई बिहान ११ बजेदेखि १२ बजेसम्म भेट हुन्छ, मैले समय लिइदिएको छु, आउनुहोस् भन्नुभयो,’ पाण्डेले भने।
मंगलबार बिहान ११ बजे मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेलाई भेटेपछि मन्त्रीको निजी सचिवालयका प्रतीक श्रेष्ठले भेट गराउने जानकारी दिइएको उनले बताए। ‘प्रतीक श्रेष्ठ भन्ने पीएले मन्त्रीसँग टाइम नै ल्या छैन भनेर आएर हामीसँग भन्यो। सन्तोष पाण्डेले प्रतीकसँग भेट्टाउँछन्, तपाईंहरूलाई समय लिइसकेको छ भनेर भनेका थिए,’ पाण्डेले नागरिकन्युजसँग भने, ‘दुई घण्टा कुराएपछि आज भेट हुँदैन भनेर भन्यो।’
फुर्केखोलाको पुल निर्माण नहुँदा धादिङका आठवटा पालिका र गोरखाका पाँच–छवटा पालिकासहित उत्तरी गोरखाका नागरिकले आवागमनमा ठूलो दुःख भोगिरहेको पाण्डेले बताए।
पुल निर्माणको समस्या र जनताले भोगिरहेको असुविधाबारे सरकारलाई जानकारी गराउन तथा सरकार यस विषयमा कति गम्भीर छ भन्ने बुझ्न आफूहरू मन्त्रीलाई भेट्न गएको उनको भनाइ छ। ‘सरकार कुन अवस्थामा रहेछ भनेर हामीले आज यो घटनाबाट पनि अलिकति बुझ्यौं। यो समस्याबारे गम्भीरतापूर्वक जानकारी गराउन र छलफल गर्न गएको मान्छेसँग कुरा त गर्दैनन् भने यिनीहरूको काम चाहिँ के गर्लान्?’ पाण्डेले प्रश्न गरे।
उनले भेटमा सहभागी सबैको हस्ताक्षरसहितको ज्ञापनपत्र लिएर गएको बताए।
आगामी दिनमा मन्त्रीले बोलाए पनि आफू भेट्न नजाने पूर्वमन्त्री अधिकारीले स्पष्ट पारेका छन्। ‘अब बोलाए पनि जाँदिनँ म, म चाहिँ जान्नँ,’ अधिकारीले भने।
भोटेकोसी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङका पाँचवटा पालिका र गोरखाको उत्तरपूर्वी क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको छ। उक्त स्थानमा पक्की पुल निर्माणको माग गर्दै धादिङका पूर्वजनप्रतिनिधिहरूले मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेका थिए।
यस्तो छ पत्र:





प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।