काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आज जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, कटान, डुबान र पहिरोको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाको अवधिमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेको छ ।
त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा-काठमाडौँ छोटा मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति, बिरामी तथा चौपायालाई सुरक्षित स्थानमा राख्न र महत्त्वपूर्ण कागजात सुरक्षित गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।