विज्ञापन
कृषि

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो।

अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ।

केही वर्षअघिसम्म भारत, बुटवल तथा पोखराबाट तिहारलगायतका चाडबाडका अतिरिक्त सभा समारोहका लागि फूल माला ल्याइने गरिएको थियो। आजभोलि भने ती ठाउँमै यहाँ उत्पादित फूल तथा माला निर्यात हुन थालेको छ।

विज्ञापन

जिल्लामा विशेष गरी दसैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी व्यावासायिक रुपमा सयपत्री फूल उत्पादन हुँदै आएको छ। विगतका तुलनामा हाल फूलखेतीको क्षेत्रफल तथा किसानको संख्या पनि थपिँदै गएको छ।

फूलखेतीमै आफनो भविष्य आठ वर्षदेखि स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका कृषक चन्द्र रानाले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन्।

उनले विशेषगरी दसैं तथा तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन्। ग्रामीण भेगमा जमिन भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएका रानाले गरेको व्यावसायलाई पछ्याउँदै अन्य कृषकले पनि फूलखेती थालेका छन्।

व्यावसायिक कृषक रानासहित सात जनाले मिलेर गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तीन–तीन ठाउँमा व्यावसायिक फूलखेती गरेका छन्। उनीहरुले दुई–दुई रोपनी जमिनमा व्यावसायिक फूलखेती गरेको व्यावसायी रानाले बताए।

“हामी सात जना किसानले मिलेर छुट्टाछुट्टै ठाउँमा व्यावसायिक फूलखेती गरेका छौं”, उनले भने, “हामीले छुट्टाछुट्टै फूलखेती गरे पनि फूलको बीउ, बेर्ना, लगाउने तरिका, बजारीकरणलगायतमा एकापसमा सरसल्लाह, अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेका छौं।”

फूल तथा मालाको माग आउँदा यही समूहभित्रबाट संकलन गरी बजारमा पठाउने गरेको उनले बताए। दसैंभन्दा अगाडि बजार मूल्य कम भएको र तिहारभन्दा अगाडि नै फूल फूलेकाले बजारीकरणमा समस्या हुने हो कि भन्ने लागेको गल्याङ–२ गुठीकी कृषक डीलमाया रानाले बताइन्।

सयपत्री फूलको माला होलसेलमा ५० रुपैंयाँ र फुटकरमा प्रतिमाला ७० रुपैंयाँका दरले बिक्री भइरहेको छ। फूल होलसेलमा प्रतिकेजी १०० रुपैंयाँ र फुटकरमा प्रतिकेजी २०० रुपैंयाँमा बिक्री गर्दै आएको कृषक रानाले बताइन्।

“यहाँका उत्पादन फूल र माला दसैंअघि पोखरामा बिक्री भएको र अब तिहारमा बुटवलमा बिक्री गर्ने तयारी भइरहेको छ”, उनले भनिन्। पोखरा तथा बुटवलका ब्यापारीले फूल तथा माला माग गर्ने भएकाले सोही आधारमा गाडीमार्फत पठाउँदै आएको उनले जानकारी दिइन्।

कहिलेकाहीँ यहाँ उत्पादन भएको फूलले भारतबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा उचित बजार मूल्य नपाउने समस्या भने रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।