विज्ञापन
कला तथा मनोरञ्जन

बगरमा फूलखेती

सप्तकोसीको पूर्वी तटबन्धले छोएको बलौटे बगर र काँसघारीबाहेक केही नभएको जग्गामा ६ वर्षअघिसम्म केही थिएन। बालुवा र झारपातले ढाकिएको यो जमिनमा एक दिन सयपत्री फूल फुलेर र चारैतिर पहेँलपुर बन्ला भनेर सायदै कसैले कल्पना गरेको थियो। मिहिनेत र इच्छाशक्ति भए बगरलाई पनि फूलबारी बनाउन सकिन्छ भन्ने उदाहरण देखाएका छन्, सुनसरी बराहक्षेत्र नगरपालिका ६ का अर्जुन विष्टले।

विष्ट कृषि फर्मका सञ्चालक अर्जुनले पाँच वर्षदेखि यस क्षेत्रमा व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्दै आएका छन्। प्रकृतिले छाडेको जस्तो देखिने बगरमा उनले आफ्नो मिहिनेत, लगनशीलता र व्यावसायिक सोच मिसाएर फूल फुलाइरहेका छन्।

‘मैले फर्म सञ्चालन गरेपछि पहिलेको उराठलाग्दो ठाउँको स्वरूप अहिले बदलिएको छ’, उनले भने, ‘फूल खेती मेरो सहायक काम हो।’ उनले पहिलो पटक फूल खेती लगाएर जाँगर भए बालुवा भरिएको बगर पनि ढकमक्क हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेपछि निरन्तर लगाउँदै आएका छन्। यस वर्ष उनले पाँच कठ्ठा जमिनमा सयपत्री फूल लगाएका छन्।

विज्ञापन

‘हरेक वर्ष सबै खर्च कटाएर ४० प्रतिशत फाइदा हुँदै आएको छ’, उनले भने, ‘यस वर्ष पनि त्यही अनुसारको आम्दानी हुनेछ।’ उनले तीन हजार ५०० सयपत्री फूलको विरुवा चितवनबाट ल्याएर रोपेका हुन्। यसअघि नै काठमाडौंबाट विरुवा ल्याएर रोप्थे तर काठमाडौंबाट ल्याएको विरुवा अग्लो हुने भए पनि फूल राम्रो उत्पादन हुँदैन्थ्यो। यस वर्ष चितवनबाट ल्याएको विरुवाबाट भने विगतमा भन्दा राम्रो फूल उत्पादन भएको उनले बताए।

नेपाल प्रहरीको जागिरबाट अवकाश लिएपछि कृषि फर्म थालेर बर्सेनि खेती गर्दै आएको फूल बिक्री गर्न कुनै समस्या नभएको उनले बताए। उनका अनुसार ग्राहकले खेतमै गएर फूल खरिद गर्ने गरेका छन्। विगतका वर्षमा प्रतिकिलो सात सय रुपैयाँ भए पनि उनले प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गरेका थिए। ‘अघिल्लो वर्ष चाँहि फूलको निकै अभाव थियो, जसले गर्दा महँगो थियो। यस वर्ष भने सरदर ४०० रुपैयाँ केजी होला भन्ने अनुमान छ। धेरै जना खेतमै खरिद गर्न आउने गरेका छन्। होलसेल बिक्री गरिँदैन्।’

उनका अनुसार फूल खरिद गर्न इटहरीसँगै बराहक्षेत्र ६, ७ र ८ नम्बरका स्थानीय बासिन्दा आउने गरेका छन्। तिहार नजिकिँदै गर्दा भारतबाट नेपाली बजारमा ठूलो परिमाणमा फूल भित्रिने गरेको छ। ‘भारतीय फूल १५ दिन अगाडि नै नेपाल भित्र्याएर शीत भण्डारमा राख्ने गरिन्छ’, विष्टले भने, ‘यसले गर्दा स्वदेशी फूलको उपयोग गर्ने र सरकारी निकायले नेपाली किसानलाई प्रोत्साहन गरे स्वरोजगारको उपयुक्त माध्यम फूल खेती हुन सक्छ।’

फूलको बजार प्रशस्त भए तापनि भारतमा उत्पादन भएको फूलसँग नेपालीले प्रतिस्पर्धा गर्न भने गाह्रो छ। ‘भारतबाट भित्रिने फूलले नै नेपाली फूललाई विस्थापन गर्छ’, उनले भने, ‘केमिकल प्रयोग गरिएको फूलको राम्रोसँग क्वारेन्टाइन चेक गर्नुपर्छ। नेपालमै अर्गानिक तरिकाले लगाएको फूल प्रयोग गर्न प्रोत्साहन गरिनुपर्छ।’

बगर र काँसघारी हुने जग्गामा अहिले कृषि फर्म खोलिएपछि विष्टले विभिन्न खाले फलफूल लगाउने गरेका छन्। लगभग पाँच बिगाहा क्षेत्रफलमा उनले भुइँकटहर, केरा, खरबुजा, उखु, मेवालगायतका फलफूल लगाउने गरेका छन्। उनले फर्ममा १८ लाखभन्दा लगानी गरिसकेका छन्।

छिटो आम्दानी हुने दृष्टिले मोरङ बेलबारी ११ का विपिन थापा र उनका भाइ मुकेश थापा मिलेर कानेपोखरी ५ मा साढे सात कट्ठा जग्गामा यसै वर्षदेखि सयपत्री फूलको खेती लगाएका छन्। गत वैशाखदेखि एभरग्रिन कृषि फर्म सञ्चालन गरेका थापा दाजुभाइले चितवनबाट पाँच हजार ६०० विरुवा ल्याएर सयपत्री फूलको खेती गरेका हुन्।

विपिन सरकारी जागिर छाडेर विदेश पोर्चुगल गएर सहज ढंगले काम नपाएर फर्केपछि भाइ मुकेशको साथ लिएर फार्म सञ्चालन गर्ने क्रममा पहिलो पटक फूलको खेती लगाए पनि अब आगामी वर्षमा सहज हुने बताए। ‘छिटो आम्दानी हुने काम के हुन सक्छ भनेर खोजी गर्दा तिहारमा सयपत्री फूलबाट आम्दानी गर्न सकिन्छ भनेर पहिलो पल्ट गरेका हौं’, विपिनले नागरिकसँग भने, ‘सबै थोकमा अहिलेसम्म एक लाख २० हजार खर्च भएको छ। तीन लाख हाराहारी आम्दानी हुने आशा छ।’

जबजब तिहार आउँछ भारतको कलकत्ताबाट ल्याइएको फूल नेपालका बजारमा बिक्री गरिएको देखेपछि फूल खेती लगाउने सोच जागेको उनले बताए। ‘यो पहिलो वर्ष हामी अनुभव लिने क्रममै छौं, अर्को वर्षदेखि भने पूर्ण रूपमा परिपक्व हुने आशा छ’, उनले भने, ‘काम गर्दै जाँदा सफल हुँदै गएपछि अरु जग्गा थपेर खेती गर्ने क्षेत्रफल बढाउँदै लैजाने योजना छ।’

थापा दाजुभाइले १३ कठ्ठा जग्गा भाडामा लिएर कृषि फर्म थालेका हुन् । फर्ममा अब च्याउ लगाउने तयारी गरिरहेका छन्। यस्तै टमाटर, ग्रिन साग, धनिया, काँक्रा लगायतको खेती गर्ने योजना रहेको जानकारी विपिनले दिए।

सुनसरी बराहक्षेत्र नगरपालिका २ कै जब्दीस्थित प्रेसिडेन्ट एग्रोटेक प्रालिले पनि यस वर्षदेखि साढे तीन कठ्ठा क्षेत्रफलमा सयपत्री फूलखेती सुरु गरेको छ। तिहारमा पूर्वको विराटनगरमा सबैभन्दा बढी फूल बिक्री हुन्छ। त्यसपछि पूर्वका अरु बजारमा पनि बिक्री हुन्छ।

चिन्तामा किसान

चितवनका सयपत्री फूल किसानलाई फूल टिप्न र बजारमा पठाउन भ्याइनभ्याई छ। भरतपुर महानगरपालिका–१५ का महेन्द्र तिवारीको बारी यतिबेला पहेँलपुर बनेको छ। साथीसँग मिलेर पहिलो पटक सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेका तिवारीको बारीमा फूल ढकमक्क फुलेका छन्। बजारबाट माग आउन थालेपछि उनी फूल टिप्ने र माला उन्ने काममा व्यस्त छन्।

‘सात कठ्ठामा खेती गरेका छौं। बजारबाट माग आउन थालेको छ। अहिले फूल टिप्न थालेका छौं। काठमाडौं पठाउने तयारी छ। स्थानीय बजारमा पनि बिक्री गर्छौं’, फूल टिप्दै गर्दा भेटिएका तिवारीले भने।

सात कठ्ठामा करिब एक लाख ३५ हजार रुपैयाँ लगानी भएको छ। अहिले प्रतिमाला ७५ रुपैयाँका दरले बिक्री भइरहेको छ। तिहारको मुख्य समयमा बिक्री गर्ने गरी फूल र माला तयार पारिएको उनले बताए। ‘अहिले हामीले ७५ रुपैयाँमा दिएका छौं। पछि महानगरपालिका र पुष्पव्यवसायी संघले पनि मूल्य निर्धारण गर्ला,’ उनले भने, ‘एक दुई दिनपछि त यसको मूल्य पक्कै बढ्छ।’

तिवारीको बारीमा फूल फुलिरहँदा समग्र चितवनको फूल खेतीको अवस्था भने त्यति सहज छैन। केही समयअघि परेको बेमौसमी वर्षाले सयपत्री खेतीमा ठूलो क्षति पुर्‍याएपछि यस वर्ष तिहारमा फूलको अभाव हुन सक्ने चिन्ता बढेको छ।

कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यस वर्ष जिल्लामा करिब ४२ हेक्टर क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ।

गत वर्ष करिब २२ देखि २३ हेक्टरमा मात्रै खेती भएकोमा यस वर्ष किसानले खेती विस्तार गरेका थिए। उत्पादन राम्रो भएको अवस्थामा चितवनबाट काठमाडौं र पोखरासम्म फूल निर्यात गर्न सकिने अवस्था थियो तर बेमौसमी वर्षाले करिब १२ हेक्टर क्षेत्रफलमा लगाइएको फूलमा क्षति पुर्‍याएको छ। खेतमै गरिएको अनुगमनका क्रममा कतिपय स्थानमा फूलको ठूलो हिस्सा बिग्रिएको पाइएको चौहानले बताइन्।

‘वर्षाअघि चितवनका अधिकांश क्षेत्रमा फूल राम्रै फुलेको थियो। केही किसानले समयमै फूल टिपेर पहिलो हार्भेस्ट सुरक्षित गर्नुभएको थियो तर वर्षापछि धेरै ठाउँमा फूलमा क्षति पुगेको छ,’ उनले भनिन्, ‘फूल कालो हुने, कोपिला बिग्रिने र उत्पादनमा कमी आउने समस्या देखिएको छ। तिहारका लागि केही अभाव हुन सक्ने अवस्था छ।’

उनका अनुसार चितवनका चनौली, कालिका, खैरहनी, राप्ती, इच्छाकामना र माडी क्षेत्रमा फूल खेती गरिएको छ। चनौली क्षेत्रमा व्यावसायिक खेती बढी छ। बजार क्षेत्रलाई लक्षित गरेर किसानले फूल खेती विस्तार गरेका छन्। फूल उत्पादनमा आएको क्षतिका कारण यस वर्ष बजारमा मागअनुसार फूल उपलब्ध हुन नसक्ने देखिए पनि त्यसको असर किसानभन्दा उपभोक्तामा बढी पर्न सक्ने आकलन चौहानको छ।

फ्लोरिकल्चर एसोसिएसनका महासचिव हिरामणि शर्माका अनुसार बेमौसमी वर्षाअघि देशभर सयपत्री फूलको उत्पादन ४० लाख मालाभन्दा बढी हुने अनुमान गरिएको थियो। व्यावसायिक प्रयोजनका लागि करिब ४५ लाख माला आवश्यक पर्ने उनको भनाइ छ तर वर्षाले विभिन्न जिल्लामा फूल खेतीमा क्षति पुर्‍याएपछि मागअनुसार उत्पादन नपुग्ने जोखिम बढेको छ। ‘कुनै ठाउँमा २० देखि ५० प्रतिशतसम्म क्षति पुगेको जानकारी आएको छ। वर्षाअघि उत्पादन पर्याप्त हुने अनुमान थियो तर अहिले तिहारमा फूलको अभाव हुन सक्ने देखिएको छ’, शर्माले भने।

तिहारका लागि मात्र व्यवसायिक रूपमा २५५ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती हुँदै आएको छ। उनका अनुसार नेपालका ४४ जिल्लामा सयपत्री फूल खेती हुने गरेको छ। चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नवलपुर, रुपन्देही, दाङ, सर्लाही, मोरङ र झापामा व्यावसायिक फूल खेती बढी हुने गरेको छ।

शर्माले किसानले व्यावसायिक रूपमा उत्पादन गरेको फूलको बिक्रीलाई प्राथमिकता दिनुपर्ने बताए। बजारमा बिचौलियाको प्रभावका कारण फूलको मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने भन्दै उनले उपभोक्तालाई सचेत रहन आग्रह गरे। ‘हामीले एउटा मालाको १५० रुपैयाँ मूल्य निर्धारण गरेका छौं। त्यसभन्दा बढी कसैले लिएमा सरकारी निकायमा उजुरी दिनुहोला’, उनले भने, ‘बरु कम भए थोरै प्रयोग गर्नु्होला मूल्य बढी नर्तिनुहोस्।’

उपभोक्तालाई आवश्यकताअनुसार मात्रै फूल तथा माला खरिद गर्न र मितव्ययी उपभोग गर्न शर्माले आग्रह गरेका छन्।

उनका अनुसार मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर भइसकेको छ। मखमली फूलको उत्पादन आन्तरिक माग पूरा गरेर निर्यातसमेत हुने गरेको छ। नेपालीको बाक्लो बसोबास रहेका विभिन्न देशमा हरेक वर्ष करिब दुई लाख मखमली माला निर्यात हुने गरेको उनले जानकारी दिए। नेपालमा उत्पादित करिब ६ लाख मखमली मालामध्ये चार लाख आन्तरिक बजारमा खपत हुने र दुई लाख निर्यात हुने गरेको छ।

स्थानीय उत्पादनको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले चितवनका स्थानीय तहले कृत्रिम फूलमालाको बिक्रीमा समेत कडाइ गर्न थालेका छन्। भरतपुर महानगरपालिका र माडी नगरपालिकाले कृत्रिम माला बिक्रीमा प्रतिबन्ध लगाएका छन्।

अवैध आयातले मारमा किसान

तिहार नजिकिएसँगै फूलको माग बढ्न थालेको छ। मोरङको सुन्दरहरैंचा, कटहरी र विराटनगरमा व्यावसायिक फूल खेती गर्ने किसानले उत्पादन बढाएका छन्। भारतबाट प्राकृतिक तथा कृत्रिम फूल अवैध रूपमा भित्रिएर बजारमा बिक्री हुन थालेपछि भने स्वदेशी किसान आफ्नो उत्पादनले उचित मूल्य नपाउने चिन्तामा छन्।

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भारतबाट प्राकृतिक र प्लास्टिकका फूल आयातमा प्रतिबन्ध लगाए पनि बजारमा भारतीय फूलको बिक्री रोकिएको छैन। सीमा क्षेत्रबाट चोरी–तस्करी गरी भिœयाइएका फूल बजारमा खुलेआम बिक्री भइरहेकाले लगानी गरेर खेती गर्ने किसान समस्यामा परेका हुन्। किसानले प्रतिबन्धको प्रभावकारी कार्यान्वयनसँगै सीमा नाका र बजारमा अनुगमन गर्न सरकारसँग माग गरेका छन्।

कटहरी गाउँपालिका–४ नयाँ बजारनजिकै तीन बिघा जग्गा भाडामा लिएर तीन जनाको संयुक्त लगानीमा फूल खेती गर्दै आएका रामकुमार राजवंशी भारतीय फूलको अवैध आयात नै स्वदेशी किसानका लागि मुख्य चुनौती भएको बताउँछन्। उनका अनुसार सरकारले प्रतिबन्ध लगाएको वस्तु बजारमा खुलेआम बिक्री हुँदा स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गरी बजारमा नियमित अनुगमन गर्ने हो भने भारतीय फूलको अवैध बिक्री रोक्न सकिने उनको भनाइ छ। ‘भारतबाट आउने फूलसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं। प्रतिबन्ध प्रभावकारी रूपमा कार्यान्वयन हुने हो भने स्वदेशमा लगानी गरेर खेती गर्ने किसानलाई राहत मिल्ने थियो’, उनले भने।

राजवंशीका अनुसार गत वर्ष तीन जना साथी मिलेर डेढ बिघा जग्गा भाडामा लिएर सयपत्री फूल खेती सुरु गरेका थिए। पहिलो वर्ष सोचेभन्दा राम्रो आम्दानी भएपछि यस वर्ष खेतीको क्षेत्रफल दोब्बर बनाएका छन्। गत वर्ष अन्य खेती र फूल बिक्रीबाट खर्च कटाएर करिब १५ लाख रुपैयाँ आम्दानी भएको उनले बताए।

राजवंशीले यस वर्ष सयपत्रीको सिजन सकिएपछि केही जग्गामा धान र मकैजस्ता अन्नबाली लगाउने तथा बाँकी जग्गामा गुलाब र रजनीगन्धाजस्ता मौसमी तथा नियमित बिक्री हुने फूल खेती गर्ने योजना बनाएका छन्। उनका अनुसार फूल खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखिएकाले किसानले लगानी र खेतीयोग्य क्षेत्रफल बढाउँदै लगेका छन्।

नेपालमा विगतमा व्यावसायिक फूल खेती पर्याप्त नहुँदा तिहारलगायत चाडपर्वमा भारतबाट फूल आयात गरेर माग पूरा गरिन्थ्यो। अहिले स्वदेशमा उत्पादन बढे पनि तिहार, विवाह तथा अन्य समारोहका बेला माग उच्च हुने भएकाले भारतबाट फूल ल्याउनुपर्ने अवस्था रहेको विराटनगरका एक फूल व्यवसायी बताउँछन्।

तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुन्छ। असोजदेखि फागुनसम्म चाडपर्व र विवाहको मौसम पर्ने भएकाले फूलको खपत बढ्छ। पछिल्लो समय सभा–समारोहका मञ्च सजावट र माला बनाउन पनि सयपत्री तथा अन्य मौसमी फूलको प्रयोग बढेको व्यवसायी बताउँछन्।

सरकारले भारतबाट प्राकृतिक र प्लास्टिकका फूल आयातमा प्रतिबन्ध लगाए पनि विराटनगर बजारमा दुवै प्रकारका फूल बिक्रीका लागि राखिएका छन्। भन्सारको कानुनी प्रक्रिया पूरा गरेर ल्याउन नपाएपछि केही व्यापारीले चोरी–तस्करीको बाटो प्रयोग गर्ने गरेको व्यवसायीको भनाइ छ।

अवैध बाटोबाट थोरै–थोरै परिमाणमा फूल ल्याउँदा जोखिम र लागत बढ्ने भएकाले महँगो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

केही समयअघि सशस्त्र प्रहरीले विराटनगरका दुईवटा कोल्डस्टोरमा भण्डारण गर्न लागिएको करिब २५ लाख रुपैयाँ बराबरको सयपत्री फूल बरामद गरेको थियो। ठूलो परिमाणमा फूल बजारसम्म आइपुग्नुले सीमा क्षेत्रमा हुने आयात नियन्त्रण र बजार अनुगमनमाथि प्रश्न उठाएको छ।

भारतसँग जोडिएको मोरङको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भए पनि अवैध रूपमा फूल भित्रिने गरेको स्थानीय व्यवसायीको आरोप छ। सरकारले भारतबाट प्राकृतिक तथा कृत्रिम फूल आयातमा प्रतिबन्ध लगाएको चार–पाँच वर्ष भइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतले भन्सारको कानुनी प्रक्रिया पूरा गरेर कुनै पनि प्रकारका फूल आयात नभएको बताए।

फूल मेला

पोखरामा कात्तिक तेस्रो सातादेखि फूल मेला आयोजना गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा पोखरा रंगशालाको दुई नम्बर गेट भित्रको चौरमा यही कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना गरिएको छ।

मेलामा २६ वटा स्टल रहेको फ्लोरिकल्चर एसोसियसन नेपाल कास्की शाखाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए। मेलामा करिब ५० प्रजातिका गोदावरी फूल प्रदर्शनीमा राखिएका छन्। मेलाको करिब ३५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेशमा व्यावसायिक रूपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एसोसिएसनले जनाएको छ। त्यसबाहेक मौसम अनुसार उत्पादन गर्ने किसान पनि धेरै छन्। पोखरामा करीब २०० रोपनीमा यस वर्ष किसानले सयपत्री फूल लगाएको जानकारी पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले दिए।

मालाको मूल्य निर्धारण

पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।

महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार कात्तिक २२ गतेदेखि लागु हुने गरी स्थानीय फूलको व्यवस्थित बिक्रीका लागि १७ वटा स्थान तोकिएको छ।

त्यस्तै निर्धारण गरिएको मूल्यअनुसार सयपत्री फूल प्रतिकिलो ५०० रुपैयाँ र माला प्रतिगोटा २०० रुपैयाँ कायम गरिएको छ।

महानगरले तोकेका विभिन्न १७ ठाउँबाट फूल र माला बिक्री गर्ने ठाउँ तोकिएको महानगरले बताएको छ। तोकिएका स्थानमा देवी पञ्चांग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेल पुरानो वडा कार्यालय, संगम चोक कृषि बजार चौतारी, नयाँ वडा कार्यालय परिसर र सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड रहेका छन्। यसैगरी महेन्द्रपुल (फल्चा), पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक (चौतारी) रहेका छन्।

त्यस्तै पोखरा रंगशाला, किसान बजार १३, वडा कार्यालय परिसर १४, किसान बजार १५, ठुलीपोखरी किसान बजार १६ र १९, किसान बजार विरौटा १७, किसान बजार खुदी ३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड (बेगनास ताल) ३१ तथा कृषि उपज थोक बजार तालचोक २७ मा फूल खरिदबिक्रीको व्यवस्था मिलाइएको महानगरले बताएको छ।

यसैबिच पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह पनि गरेको छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको जनाउँदै महानगरले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

प्लास्टिकका माला प्रतिबन्ध

इलाममा प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, बिक्री गर्न रोक लगाएको हो।

चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ। सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रशासनले वातावरण विभागले २०७९ साउन ९ मा सूचना जारी गरी नेपालमा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र बिक्री–वितरणमा रोक लगाएको स्मरणसमेत गराएको छ। जिल्लाका स्थानीय तहसमेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचनाअनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ।

इलाम नगरपालिकाले समेत प्लास्टिकजन्य फूलगुच्छा र मालाको उत्पादन, भण्डारण, आयात र बिक्री–वितरण नगर्न सूचना जारी गरेको छ। इलाम नगरपालिकाले यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको पनि नगरले जनाएको छ। नगरले पनि प्लास्टिकजन्य माला, फूललगायत प्रयोग, भण्डारण, आयात र बिक्री नगर्न सचेत गर्दै कसैले सूचनाविपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।