विज्ञापन
कला तथा मनोरञ्जन

तिहारको सुन्दरता

तिहार उज्यालोको उत्सव हो, रङहरूको उत्सव हो, फूलहरूको उत्सव हो र आत्मीयताको उत्सव हो। प्रकृतिको रङ, घरआँगनको सजावट, दाजुभाइ र दिदीबहिनीको स्नेह तथा मान्छे र पशुपक्षीबिचको आत्मीय सम्बन्धले तिहारलाई नेपाली जीवनको विशिष्ट पर्व बनाएका छन्। यसका सुन्दरता आँखाले देखिने दृश्यमा मात्र सीमित हुँदैनन्, मनले अनुभूत गर्ने भावनामा समेत फैलिएका हुन्छन्। तिहार आउँदा प्रकृति, संस्कृति र मानवीय सम्बन्धले एकैसाथ उत्सव मनाएजस्तो लाग्छ।

तिहारको आगमनसँगै घरआँगनमा रङहरूका कोपिला धमाधम फक्रिन र फुल्न थाल्छन्। बारीमा फुलेका सयपत्री र मखमली फूल टिपेर माला गाँस्ने चटारो चल्छ। पहेँलो सयपत्री र गाढा कलेजी रङको मखमलीले घरका ढोका, झ्याल र आँगन सजिन्छन्।

फूलका मालाले घर मात्र सुन्दर हुँदैन, मानिसका मनमा पनि उत्सवको रङ भरिन्छ। फूलको कोमलताभित्र स्नेहको भाषा हुन्छ। तिनलाई उनेर माला बनाउँदा एउटै धागोमा अनेक फूल गाँसिएझैं परिवारका सदस्यहरू पनि प्रेमको एउटै सूत्रमा गाँसिएको अनुभूति हुन्छ। फूल ओइलाउँछन्, माला चुँडिन्छन्, तर तिनले जगाएको आत्मीयताको सुगन्ध मखमली माला र गाँसिएका मालाजस्तै मनमा लामो समयसम्म रहिरहन्छ।

विज्ञापन

तिहारको अर्को सुन्दरता प्रकृतिप्रतिको सम्मान हो। काग, कुकुर, गाई, गोरु, लक्ष्मी र दाजुभाइको पूजा गर्ने परम्पराले मानिसको जीवन पशुपक्षी, प्रकृति, मानिसदेखि देवीदेवतासम्म कति गहिरो गरी जोडिएको हुन्छ भन्ने कुरा यसले सम्झाउँछ। कागलाई सन्देशवाहकका रूपमा सम्झेर खानेकुरा दिइन्छ। कुकुरलाई आज्ञापालक मानेर फूलको माला लगाएर टीका लगाइन्छ। गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरिन्छ। गोरुलाई अन्न उत्पादनमा सहयोग गर्ने श्रम साथीका रूपमा सम्मान गरिन्छ। दिदीबहिनीद्वारा दाजुभाइलाई विधिविधान र साइतअनुसार पूजा गरिन्छ।

लक्ष्मीपूजाको दिन साँझ पर्दै जाँदा घरहरू उज्यालिन थाल्छन्। ढोकामा दीप प्रज्ज्वलित हुन्छन्, झ्यालमा बत्तीका लहर झिलिमिली गर्छन् र आँगनमा रंगोली सजिन्छ। कतै दियोको मधुरो प्रकाश हुन्छ, कतै विद्युतीय बत्तीको चमक ! अँध्यारो क्रमशः उज्यालोमा बदलिँदै जाँदा घर मात्र होइन, मन पनि उज्यालो भएको स्वतः अनुभूति हुन्छ। लक्ष्मीको स्वागतमा गरिने पूजाले धनसम्पत्तिको कामना गर्छ तर उज्यालोको यो पर्वले समृद्धिको अर्थ धनमा मात्र खोज्न हुँदैन भन्ने कुरा पनि सम्झाउँछ। घरमा प्रेम छ, परिवारमा मेलमिलाप छ र मनमा सन्तोष छ भने त्यहाँ समृद्धिको आफ्नै प्रकाश हुन्छ।

कसैलाई घरमा बोलाएर खुवाउनु, टाढाबाट आएका आफन्तलाई आत्मीयतापूर्वक स्वागत गर्नु र छिमेकीसँग परिकार बाँड्नु नेपाली चाडपर्वको उदार परम्परा हो। एउटै थालबाट बाँडेर खाएको सेलरोटीमा कहिलेकाहीं महँगो भोजभन्दा बढी आत्मीयताको स्वाद भेटिन्छ। तिहारको स्मृतिमा चंगा र पिङका दृश्य पनि उत्तिकै सुन्दर हुन्छन्।

खुला आकाशमा उडिरहेको चंगाले बालमनको स्वतन्त्रता र कल्पनालाई प्रतिनिधित्व गर्छ। हावाको वेगसँगै माथि उड्ने चंगा हेर्दा मन पनि त्यसैसँगै उड्न खोज्छ। चंगाको धागो समातेर आकाशतिर आँखा लगाइरहेका बालबालिकाका अनुहारमा छुट्टै उत्साह देखिन्छ। पिङमा मच्चिँदा शरीर मात्र अगाडि–पछाडि हुँदैन, मन पनि बाल्यकालका रमाइला दिनतिर फर्किन्छ।

दसैंतिहारको समयसँग जोडिएका यस्ता खेलले चाडपर्वलाई पुस्तौंदेखि स्मृतिमा जीवित राखेका हुन्छन्। समय बदलिएको छ, मनोरञ्जनका साधन फेरिएका छन् तर खुला आकाशमा चंगा उडाउनु र पिङमा मच्चिनुको आनन्द अझै उस्तै आत्मीय छ। उस्तै प्यारो र आह्लादमय छ।

जीवनको बाटोले दाजुभाइ र दिदीबहिनीलाई फरक–फरक ठाउँमा पुर्‍याएको हुन सक्छ। कोही रोजगारीका लागि टाढा पुगेका हुन्छन्, कोही परिवारको जिम्मेवारीमा व्यस्त हुन्छन्। भेटघाटका अवसर कम हुँदै जान्छन् तर भाइटीकाको दिन उनीहरूलाई एउटै आँगनमा भेला गराउने चाहना अझै जीवित रहन्छ।

कतै दिदीबहिनी बाटो हेरेर बसेका हुन्छन्, कतै दाजुभाइ टीका लगाउन आइपुग्ने प्रतीक्षामा हुन्छन्। भेट हुन नसक्नेहरूका मनमा पनि सम्झनाको टीका लागिरहेको हुन्छ। यसैले भाइटीका निधारमा रङ लगाउने संस्कार मात्र होइन, टाढिँदै गएका सम्बन्धलाई फेरि नजिक ल्याउने आत्मीय अवसर पनि हो।

तिहारका साँझहरू देउसुरे र भैलीका स्वरले झन् जीवन्त बन्छन्। घरघरमा गीत गाउँदै पुग्ने समूह, मादलका ताल, तालीको लय र सामूहिक स्वरले बस्तीमा उत्सवको वातावरण सिर्जना गर्छन्। भैली खेल्ने महिलाहरूका गीतमा आशीर्वाद र शुभकामना सुनिन्छन्। देउसुरेमा रमाउने युवाहरूका स्वरमा उमंग र सामूहिकताको भावना भेटिन्छ। घरधनीले दक्षिणा, खानेकुरा वा अन्य उपहार दिएर उनीहरूलाई स्वागत गर्छन्।

यद्यपि समयसँगै तिहार मनाउने तरिका फेरिँदै गएको छ। फूलका प्राकृतिक मालाको ठाउँमा कृत्रिम सजावट बढेको छ। देउसुरे र भैलीका परम्परागत भाकामा आधुनिक संगीत मिसिएको छ। चंगा र पिङको ठाउँ कतिपय बालबालिकाका लागि मोबाइल र डिजिटल खेलले लिएका छन्। तैपनि तिहारको मूल सुन्दरता हराउनु पर्दैन।

परम्पराको रूप फेरिन सक्छ तर त्यसको आत्मा जोगाइराख्नु हाम्रो जिम्मेवारी हो। फूल सजाउनुको अर्थ प्रकृतिसँग नजिक हुनु हो, पशुपक्षीको पूजा गर्नुको अर्थ जीवप्रतिको संवेदना जगाउनु हो, दियो बाल्नुको अर्थ उज्यालोप्रति आस्था राख्नु हो र भाइटीका लगाउनुको अर्थ सम्बन्धको न्यानोपन जोगाउनु हो।

तिहारका सुन्दरता यिनै साना–साना दृश्य र भावनामा लुकेका छन्। सयपत्री र मखमलीका मालामा, सेलरोटीको बास्नामा, दियोको प्रकाशमा, चंगाले छोएको आकाशमा, पिङमा मच्चिएको बालहर्षमा, दिदीबहिनीका आँखामा भरिएको स्नेहमा र देउसुरेका सामूहिक स्वरमातिहारको जीवन्तता भेटिन्छ। यी सबैले मिलेर एउटा यस्तो सांस्कृतिक चित्र बनाउँछन्, जहाँ प्रकृति, आस्था, प्रेम र सामाजिक सद्भावका रङहरू एकैसाथ देखिन्छन्।

मलाई लाग्छ, तिहारको वास्तविक सुन्दरता बाहिरको झिलिमिलीभन्दा भित्रको उज्यालोमा बढी छ। घरमा सयौं बत्ती बालेर पनि मन अँध्यारो रह्यो भने उत्सवको अर्थ अपूरो हुन्छ। निधारमा सप्तरंगी टीका लगाए पनि सम्बन्धमा कटुता रहिरह्यो भने त्यसको रङ फिक्का हुन्छ। फूलका मालाले घर सजाए पनि व्यवहारमा प्रेम फुल्न सकेन भने तिहारको सौन्दर्य अधुरै रहन्छ। तिहारले हामीलाई बाहिर उज्यालो छर्न मात्र होइन, आफ्नै मनभित्र पनि उज्यालो खोज्न सिकाउँछ।

त्यसैले तिहार मेरो दृष्टिमा एउटा पर्व मात्र होइन, जीवनलाई रंगीन बनाउने अनुभूति हो। फूलले प्रकृतिको सुन्दरता देखाउँछन्, दियोले अँध्यारोमा उज्यालोको सम्भावना जगाउँछ, पशुपक्षीको पूजाले करुणाको अर्थ सम्झाउँछ र भाइटीकाले प्रेमको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। देउसुरे र भैलीले सामूहिक जीवनको आनन्द सुनाउँछन्। यी सबै सुन्दरता एकै ठाउँमा भेटिँदा तिहार हाम्रो संस्कृतिको जीवन्त प्रतिविम्ब बन्छ। त्यहाँ समग्र मन उत्सव बनेर खुसीका मुर्छनाहरूमा नाच्न थाल्छन्।

तिहारको उज्यालो दियोजस्तै मानिसको मनमा पनि बलिरहोस्। फूलको रङ घरआँगनमा फुलेझैं सम्बन्धमा पनि फुलिरहोस्। सेलरोटीको मिठास जिब्रोमा मात्र होइन, व्यवहारमा पनि घुलिरहोस् अनि दिदीबहिनी र दाजुभाइबिचको स्नेह परिवारमा मात्र सीमित नरही सिंगो समाजमा फैलिरहोस्। सायद तिहारका सुन्दरतालाई जीवन्त राख्ने सबैभन्दा सुन्दर उपाय यही हो। यस्तै मङ्गल कामना र यही शुभेच्छा नै तिहारको असली शुभकामना हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।