तिहारसँगै घरघरमा दीपावलीको उज्यालो छाएको छ। आँगनमा सयपत्री र मखमली फुलेका छन्। बजार तिहारमा रंगिएको छ। दिदीबहिनी आफ्ना भाइको निधारमा सप्तरंगी टीका लगाउन आतुर छन्। भाइहरू आफ्ना दिदीबहिनीलाई भेट्न, उनीहरूको हातबाट टीका लगाउन र आशीर्वाद लिन घर फर्किरहेका छन्। कतै आमाहरू मिठा परिकार पकाउँदै छन्, कतै भाइहरू हाँस्दै देउसीभैलो खेलिरहेका छन्। खुसी, प्रेम र आत्मीयताले घर उत्फुल्ल देखिन्छन्।
यही उज्यालो तिहारको बिचमा एउटी छोरीको संसार भने अँध्यारो छ। उसको घरमा न आमाको ममताले भरिएको आवाज छ, न बाबाको भरोसाले भरिएको साथ, न भाइहरूको हाँसो। न कसैले ढोकाबाट बोलाउँदै भन्छ – ‘दिदी, हामी आयौं।’
अरूका घरमा तिहारको खुसी देख्दा उसको मनभित्रको अँध्यारो खाडल झनै गहिरिन्छ। पहिला उज्यालो बोकेर उसको पनि तिहार आउँथ्यो, आमाको हातबाट टीका लगाउँथी, बाबाको स्नेहरूपी आशीर्वाद पाउँथी। आफ्ना भाइहरूको निधारमा सप्तरंगी टीका लगाएर उनीहरूको दीर्घायु, सुख र सफलताको कामना गर्थी। आमाले पकाएको मिठो खाना खान्थी, भाइहरूसँग हाँस्दै, रमाउँदै, देउसीभैलोको आवाज सुन्दै रात बिताउँथी। आज ती सबै खुसी सम्झनामा मात्र सीमित छन्।

कहिलेकाहीं तिहार आउँदा उसको मनमा बाल्यकालका ती दिन चलचित्रझैं घुम्न थाल्छन्। आमाबुबा र भाइहरूसँग बिताएका ती साना–साना क्षण आज जीवनका सबैभन्दा अमूल्य सम्पत्ति बनेका छन्। त्यो समयमा हामीलाई थाहा थिएन, जीवनमा एक दिन यस्ता सम्झनाहरू मात्र बाँकी रहनेछन्। हामीलाई लाग्थ्यो, हाम्रो परिवार सधैं यस्तै रहनेछ। लाग्थ्यो– हामी सधैं सँगै खेल्नेछौं, सँगै खानेछौं, सँगै हाँस्नेछौं र हरेक तिहार यसरी नै मनाउनेछौं तर समयले कसैलाई पर्खंदो रहेनछ।
जीवनले कहिलेकाहीं यस्तो मोड ल्याउँछ, जहाँ हिजोका खुसी आज आँखाबाट झर्ने आँसु बन्न पुग्छन्। मलाई अझै बाल्यकालका ती दिन सम्झनामा आउँछन्। हामी सबै सँगै बसेर खाना बाँडेर खान्थ्यौं, कहिलेकाहीं एउटै सिरानीमा टाउको राखेर सुत्थ्यौं। कहिले सिरानी तानातान गरेर खेल्थ्यौं, कहिले एकअर्कालाई जिस्क्याउँथ्यौं। सानो कुरामा झगडा हुन्थ्यो, फेरि केही क्षणमै हाँस्दै मिल्थ्यौं। त्यो समयमा हाम्रो संसार कति सानो थियो तर हाम्रो खुसी कति ठुलो थियो ! हामीलाई ठुलो घर चाहिँदैनथ्यो, महँगो खेलौना चाहिँदैनथ्यो। एकअर्काको साथ भए पुग्थ्यो। एउटै थालमा खाना बाँडेर खान पाउँदा पनि हामीलाई संसार जितेजस्तो लाग्थ्यो। तिहार आउँदा ती सम्झना झन् गहिरो भएर मनमा आउँछन्।
आमाले पकाएको खाना, भाइहरूसँग बसेर खाएको मिठो परिकार, बाबाले सबैलाई सँगै बोलाएको आवाज, घरभित्रको हाँसो र रमाइलो वातावरण– यी सबै सम्झँदा मन भक्कानिन्छ। आज हामी ठुलो भएका छौं। जीवनले धेरै कुरा सिकाएको छ तर बाल्यकालको त्यो सानो संसार, जहाँ हामी सबै सँगै थियौं, त्यहाँ फर्केर जान मन लाग्छ। कहिलेकाहीं मनले भन्छ, एक दिन मात्रै भए पनि त्यो समय फर्कियोस्। फेरि आमाको आवाज सुनौं, बाबाको अनुहार हेरौं, भाइहरूसँग बसेर खाना खाऔं, फेरि एउटै सिरानीमा बसेर हाँसौं। तर जीवनमा केही कुरा चाहेर पनि फर्काउन सकिँदो रहेनछ।
मलाई बाल्यकालको एउटा घटना अझै स्पष्ट सम्झनामा छ। हामी साना थियौं। तिहारको समय थियो। घरमा सबैजना खुसी थिए। हामी बच्चाहरू आफ्नो संसारमा रमाइरहेका थियौं। कहिले बल पास गरेर खेल्थ्यौं, कहिले एकअर्कालाई जिस्क्याउँथ्यौं, कहिले खाना बाँडेर खान्थ्यौं। हाम्रो मनमा कुनै ठुलो चिन्ता थिएन। हामीलाई केवल खेल्न, हाँस्न र रमाउन मन लाग्थ्यो। त्यही समयमा हामीले ठुला मानिसलाई चुरोट पिएको देखेका थियौं। उनीहरूले हातमा लामो चुरोट समातेर धुवाँ निकालिरहेको देख्दा हामीलाई पनि त्यसको नक्कल गर्न मन लाग्यो।
हामीलाई चुरोटको वास्तविक अर्थ थाहा थिएन। त्यसले शरीरमा पार्ने असरबारे पनि कुनै ज्ञान थिएन। हामीले केवल ठुला मानिसहरूले गरेको व्यवहारको नक्कल गर्न खोजेका थियौं। हामीले कागजलाई लामो बनाएर चुरोटजस्तो बनायौं। त्यसलाई हातमा समातेर आफू पनि ठुलो मानिस भएको अभिनय गर्न थाल्यौं। त्यो समयमा हामीलाई आफू निकै ठुलो र साहसी भएकोजस्तो लागिरहेको थियो।
बाल्यकालको नादानी, जिज्ञासा र नक्कल गर्ने बानीले हामीलाई एउटा यस्तो गल्तीको नजिक पुर्यायो, जुन आज पनि मेरो मनमा गहिरो सम्झना बनेर बसेको छ। खेल्दै गर्दा अचानक परिस्थिति बदलियो। हामीले गरेको नक्कल र असावधानीले आगो लाग्ने अवस्था सिर्जना भयो। सुरुमा हामीलाई के भइरहेको छ भन्ने पनि राम्रोसँग बुझ्न सकेनौं। जब आगो फैलिन थाल्यो, हामी सबै डरायौं। केही क्षणअघि हाँस्दै खेलिरहेका हामी अचानक आतंकित भयौं। घरभित्र आगो देखेपछि हाम्रो मनमा एउटै डर आयो– अब के हुन्छ ? हामी कसरी बच्ने ? घरमा के होला ? परिवारले थाहा पाएपछि के भन्नुहोला ? हामी डरले बाहिर निस्कियौं। परिस्थिति नियन्त्रण गर्न नसक्ने भएपछि हामी त्यहाँबाट भाग्यौं। हामीलाई थाहा थियो, हामीले ठुलो गल्ती गरेका छौं। त्यस समयमा हामी साना थियौं, डराएका थियौं र के गर्ने भन्ने बुझ्न सकेका थिएनौं। हामीले सोचेको खेल अचानक एउटा गम्भीर घटनामा बदलिएको थियो।
त्यसपछि छिमेकीले आगो र धुवाँ देखे। उहाँले हाम्रो घरमा खबर गर्नुभयो। घरबाट धुवाँ निस्किरहेको देखेपछि सबैजना आत्तिए। केही समयमै प्रहरी पनि आए। घरका मानिसहरूलाई खबर भयो। त्यो घटना हाम्रो बाल्यकालको सबैभन्दा डरलाग्दो अनुभवमध्ये एक बन्यो। हामीले गरेको गल्तीले घर र परिवारलाई कति ठुलो जोखिममा पारेको थियो भन्ने कुरा त्यसपछि मात्र बुझ्न थाल्यौं। त्यो दिनको डर, घरमा भएको क्षति, छिमेकीले दिएको खबर र प्रहरी आएको दृश्य आज पनि मेरो मनमा ताजा छ।हामीले त्यस समयमा केवल खेलिरहेको ठानेका थियौं तर त्यो खेलले कति ठुलो दुर्घटना निम्त्याउन सक्थ्यो भन्ने कुरा पछि बुझ्यौं। बाल्यकालमा गरेको एउटा गल्तीले जीवनभरका लागि सम्झना र चेतावनी दिन सक्छ भन्ने कुरा मैले त्यही घटनाबाट सिकें।
आज त्यो घटना सम्झँदा मनमा दुःख पनि लाग्छ, डर पनि लाग्छ तर एउटा महत्त्वपूर्ण शिक्षा पनि प्राप्त हुन्छ। बच्चाहरूको जिज्ञासा स्वाभाविक हुन्छ। उनीहरू ठुला मानिसहरूको नक्कल गर्छन्। उनीहरूलाई सही र गलत बुझाउने जिम्मेवारी परिवार र समाजको हो। चुरोट, आगो र अन्य जोखिमपूर्ण वस्तुहरू खेल्ने सामग्री होइनन्। बच्चाहरूलाई समयमै सही शिक्षा, सुरक्षित वातावरण र माया दिनुपर्छ। उनीहरूको जिज्ञासालाई दण्डले होइन, समझदारी र मार्गदर्शनले सही दिशामा लैजानुपर्छ।
त्यो बाल्यकालको घटना आज पनि मेरो मनमा एउटा गहिरो सम्झना बनेर बसेको छ। हामीले गरेको गल्तीलाई म कहिल्यै बिर्सन सक्दिनँ। त्यो गल्तीबाट सिकेको पाठ पनि जीवनभर बिर्सने छैन। हामी साना थियौं, हामीलाई धेरै कुरा थाहा थिएन तर त्यो घटनाले जीवनमा जिम्मेवारी र सावधानीको महत्त्व सिकायो।
बाल्यकालमा हामीले गरेका यस्ता साना–साना गल्ती, खेल, झगडा र हाँसो नै पछि जीवनका अमूल्य सम्झना बन्छन्। त्यस समयमा हामीलाई लाग्थ्यो, यो संसार सधैं यस्तै रहनेछ। हामी सधैं सँगै खेल्नेछौं, सँगै खाना खानेछौं र हरेक तिहारमा एकअर्कालाई भेट्नेछौं।
समयले सबै कुरा बदलिदियो। आज जब म त्यो घटना सम्झन्छु, मलाई केवल आगो लागेको डर मात्र याद आउँदैन। मलाई त्यो समयका भाइहरूको अनुहार याद आउँछ। हामी सँगै खेलेका दिन याद आउँछन्। एउटै सिरानीमा बसेर हाँसेका क्षण याद आउँछन्। खाना बाँडेर खाएका दिन याद आउँछन्। त्यो बाल्यकालको संसार, जहाँ हामीलाई एकअर्काको साथ नै सबैभन्दा ठुलो खुसी थियो, आज मेरो हृदयमा गहिरो रूपमा बसेको छ।
आज मेरो जीवनमा ती सबै सम्बन्ध छैनन्। मैले आमाबुबा गुमाएकी छु, भाइहरू गुमाएकी छु। जीवनको सबैभन्दा अमूल्य सम्बन्धहरू गुमाएकी छु। तिहार आउँदा ती सम्झना झन् गहिरो हुन्छन्। अरूका घरमा भाइहरू हाँस्दै टीका लगाएको देख्दा मन भक्कानिन्छ। आमाहरूले छोराछोरीलाई खाना खुवाएको देख्दा आफ्नी आमाको सम्झना आउँछ। बाबाहरूले परिवारलाई आशीर्वाद दिएको देख्दा आफ्ना बाबाको अभाव महसुस हुन्छ।
आमाबुबा गुमाउनु भनेको दुई जना मानिस गुमाउनु मात्र रहेनछ। आफ्नो बाल्यकाल, सुरक्षित संसार, दुःखमा टाउको राख्ने ठाउँ र जीवनमा भरोसा गर्ने आधार पनि गुमाउनु रहेछ। आमाको माया संसारको सबैभन्दा ठुलो सुरक्षा हो, बाबाको साथ जीवनको सबैभन्दा ठुलो भरोसा हो। जब ती दुवै सम्बन्ध जीवनबाट टाढा हुन्छन्, छोरीको मनमा एउटा यस्तो खालीपन जन्मिन्छ, जुन कुनै सम्पत्ति, पद, सफलता वा प्रशंसाले भरिन सक्दैन। भाइहरू गुमाउनु पनि दिदीका लागि असह्य पीडा हो। भाइ भनेको केवल परिवारको एउटा सदस्य होइन, बाल्यकालको साथी, आफ्नो मायाको हिस्सा र जीवनको एउटा अमूल्य सम्बन्ध हो। दिदीले भाइलाई सानो हुँदा हात समातेर हिँड्न सिकाउँछे, खाना खुवाउँछे, दुःख पर्दा सम्झाउँछे र खुसी हुँदा सबैभन्दा बढी रमाउँछे। भाइ ठुलो हुँदै जाँदा दिदीको मनमा एउटा भरोसा जन्मिन्छ, ‘मेरो भाइ छ, जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हामी एकअर्काको साथमा हुनेछौं।’
जब त्यही भाइ जीवनबाट टाढा हुन्छ, त्यो भरोसा पनि टुट्छ। तिहारको सबैभन्दा विशेष सम्बन्धमध्ये एक दिदी र भाइको सम्बन्ध हो। भाइको निधारमा टीका लगाउनु केवल धार्मिक परम्परा होइन, दिदीको माया, भाइप्रतिको जिम्मेवारी र एकअर्काको जीवनमा रहेको आत्मीयताको प्रतीक हो।
दिदीले भाइको दीर्घायुको कामना गर्नु भनेको उसको जीवनमा सुख, सुरक्षा र सफलताको प्रार्थना गर्नु हो। भाइले दिदीको हातबाट टीका लगाउनु भनेको उसको माया र आशीर्वादलाई स्वीकार गर्नु हो। यो सम्बन्धको वास्तविक मूल्य केवल तिहारको दिनमा मात्र बुझेर हुँदैन। भाइ जीवित हुँदा उसको सम्मान गर्नुपर्छ, दिदी जीवित हुँदा उनको माया बुझ्नुपर्छ, एकअर्काको दुःखमा साथ दिनुपर्छ र खुसीमा सहभागी हुनुपर्छ किनकि जीवन अनिश्चित छ। आज साथमा भएको मानिस भोलि नहुन सक्छ। आज बोलेको शब्द भोलि सम्झनामा मात्र रहन सक्छ।
तिहार आउँदा मेरो मनमा आमाको भान्सा सम्झना आउँछ। आमाले कसरी मिठा परिकार पकाउनुहुन्थ्यो, भाइहरूलाई कुन खाना मन पथ्र्यो, कसले धेरै खाना खान्थ्यो, कसले आमासँग थप मिठाइ माग्थ्यो, बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो– यी साना–साना सम्झना आज मेरो हृदयमा गहिरो पीडा बनेर बसेका छन्। परिवार हुँदा भान्सा केवल खाना पकाउने ठाउँ होइन, माया, हाँसो र आत्मीयताको संसार हुन्थ्यो। ‘सबैलाई पुग्छ, अझै खाऊ’ भन्नुहुन्थ्यो। भाइहरू हाँस्दै खाना खान्थे। दिदीले भाइहरूलाई थप खाना दिन्थी। बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो तर आज खाना छ, घर छ, दीप छ, फूल छन् तर त्यो खाना खाने परिवार छैन; त्यो हाँसो छैन; त्यो आत्मीयता छैन। समाजमा धेरै महिला छन्, जसले आफ्नो जीवनमा आमाबुबा गुमाएका छन्। कसैले आफ्ना भाइ गुमाएका छन्, कसैले दाजुभाइ, दिदीबहिनी र परिवारका अन्य सदस्य गुमाएका छन्। बाहिरबाट हेर्दा उनीहरू सामान्य देखिन्छन्। उनीहरू काम गर्छन्, आफ्नो जिम्मेवारी पूरा गर्छन्, समाजमा आफ्नो पहिचान बनाउँछन् र अरूलाई हौसला दिन्छन् तर उनीहरूको मनभित्र कति पीडा छ भन्ने कुरा सबैले बुझ्न सक्दैनन्। विशेषगरी तिहारजस्ता पर्वमा उनीहरूको मनभित्रको घाउ फेरि ताजा हुन्छ। कसैले सोध्छ– तपाईंका भाइहरू कहाँ छन् ? कसैले भन्छ– तिहारमा सबै परिवार जम्मा हुनुभएको छैन ? यी सामान्य प्रश्न हुन सक्छन् तर परिवार गुमाएकी महिलाका लागि यस्ता प्रश्न हृदयमा गहिरो चोट बन्न सक्छन् किनकि उनीसँग उत्तर हुन्छ तर त्यो उत्तर दिनका लागि मनमा ठुलो साहस चाहिन्छ।
आज तिहारको दिन म बिहानै उठ्छु। घर सफा गर्छु, दीप बाल्छु, आँगनमा फूल सजाउँछु। आमाबुबाको सम्झनामा मनमनै प्रार्थना गर्छु। भाइहरूको सम्झनामा आँखा बन्द गर्छु। आमाको तस्बिरअगाडि फूल राख्छु, बाबाको तस्बिरअगाडि दीप बाल्छु र भाइहरूको तस्बिरअगाडि टीका तथा माला राख्छु। मेरो मनभित्र एउटा आवाज उठ्छ– ‘आमा, बाबा, मेरा भाइहरूबिना नै आज तिहार आयो। तपाईंहरू भएको भए आज हाम्रो घर कति खुसी हुन्थ्यो होला ! आमाले मिठो खाना पकाउनुहुन्थ्यो, बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो, भाइहरू हाँस्दै टीका लगाउन आउँथे र म उनीहरूको निधारमा टीका लगाएर आशीर्वाद दिन्थें। आज त्यो सबै सम्झना मात्र भयो।’
मेरो आँखाबाट आँसु झर्छ। म आमाको तस्बिर हेर्छु, बाबाको तस्बिर हेर्छु, भाइहरूको तस्बिर हेर्छु र मनमनै भन्छु– ‘तपाईंहरूलाई गुमाएको पीडा म कहिल्यै बिर्सन सक्दिनँ तर तपाईंहरूले दिएको माया, संस्कार र हिम्मत पनि म कहिल्यै बिर्सने छैन।’
जीवनमा सबैभन्दा ठुलो परीक्षा कहिलेकाहीं त्यही हुन्छ, जब हामीले सबैभन्दा बढी माया गरेका मानिस गुमाउँछौं। त्यसपछि हामीले जीवनलाई नयाँ तरिकाले बुझ्नुपर्छ, आफ्नो दुःखलाई स्वीकार गर्नुपर्छ, आफ्नो पीडालाई सम्मान गर्नुपर्छ र जीवनलाई फेरि अघि बढाउनुपर्छ। यसको अर्थ आफ्नो आँसु रोक्नु होइन, आफ्नो दुःख लुकाउनु पनि होइन। बलियो हुनु भनेको कहिल्यै नरुनु होइन।
बलियो हुनु भनेको रोएपछि पनि जीवनलाई सम्हालेर अघि बढ्न सक्नु हो। परिवार गुमाएकी महिलाले पनि खुसी हुने अधिकार राख्छे, सपना देख्ने अधिकार राख्छे, नयाँ सम्बन्धहरू बनाउन सक्छे र आफ्नो जीवनलाई सम्मानपूर्वक अघि बढाउन सक्छे। उसले आफ्नो पीडालाई अरूका लागि प्रेरणा बनाउन सक्छे। समाजले पनि उसको पीडा बुझ्नुपर्छ, उसको आँसु सुन्नुपर्छ, उसको एक्लोपन बुझ्नुपर्छ र उसलाई सम्मान तथा साथ दिनुपर्छ।
यो केवल एउटी महिलाको कथा होइन। यो ती सबै छोरीहरूको कथा हो, जसले आफ्नो जीवनमा आमाबुबा गुमाएका छन्। यो ती सबै दिदीहरूको कथा हो, जसले आफ्ना भाइहरू गुमाएका छन्। यो ती महिलाहरूको कथा हो, जो तिहारको उज्यालोमा पनि आफ्नो मनको अँध्यारोसँग संघर्ष गरिरहेका छन्। उनीहरूको पीडा वास्तविक छ, उनीहरूको आँसु अमूल्य छ र उनीहरूको सम्झना सम्मानयोग्य छ। उनीहरूले गुमाएका सम्बन्धहरू संसारका सबैभन्दा अमूल्य थिए। उनीहरूको जीवन पनि अमूल्य छ।
आज म एक्लै तिहार मनाउँदै छु तर मेरो हृदयमा मेरो परिवार सधैं जीवित छ। आमा, तपाईंको माया मेरो जीवनको आधार हो; बाबा, तपाईंको भरोसा मेरो जीवनको शक्ति हो; मेरा भाइहरू, तिमीहरूको सम्झना मेरो हृदयको अमूल्य हिस्सा हो। म तपाईंहरूलाई गुमाएको पीडामा बाँचेकी छु तर तपाईंहरूले दिएको मायाको शक्तिमा अघि बढ्नेछु।
आज म रोएकी छु तर म हारेकी छैन। आज मेरो मन खाली छ तर मेरो जीवन अर्थहीन छैन। आज मेरो घरमा तपाईंहरूको आवाज छैन तर तपाईंहरूको सम्झना मेरो जीवनमा सधैं रहनेछ। बाल्यकालमा हामीले गरेका गल्ती, खेलेका खेल, बाँडेर खाएका खाना, एउटै सिरानीमा सुतेका रात र एकअर्कालाई जिस्क्याएका क्षण आज जीवनका अमूल्य सम्झना बनेका छन्। त्यो आगो लागेको घटनाले मलाई सावधानी र जिम्मेवारीको पाठ सिकायो। त्यो घटनासँग जोडिएका भाइहरूको सम्झनाले आज मेरो मनलाई अझ बढी भावुक बनाउँछ। हामीले त्यस समयमा सोचेका थिएनौं कि एक दिन यी सम्झना नै हाम्रो जीवनको सबैभन्दा ठुलो सम्पत्ति बन्नेछन्। म आज पनि त्यो बाल्यकाल सम्झन्छु। हामीले गरेको गल्ती सम्झन्छु।
हामीले भोगेको डर सम्झन्छु तर त्योभन्दा बढी म हामी सबै सँगै भएको समय सम्झन्छु। त्यो समय, जब हामीलाई एकअर्काको साथ नै सबैभन्दा ठुलो खुसी थियो। त्यो समय, जब हामीलाई थाहा थिएन कि जीवनले एक दिन हाम्रो संसार बदलिदिनेछ। आज म एक्लै छु तर म कमजोर छैन। मैले धेरै गुमाएकी छु तर मेरो जीवनको शक्ति अझै बाँकी छ। म आफ्नो पीडालाई सम्मान गर्नेछु। आफ्नो परिवारको सम्झनालाई जीवित राख्नेछु। आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनेछु र अरूका लागि माया, आशा र प्रेरणाको स्रोत बन्ने प्रयास गर्नेछु।
यो तिहार मेरा लागि केवल दीपावली होइन। यो आमाबुबाको सम्झना हो, भाइहरूको माया हो, बाल्यकालको संसार हो, एउटा गल्तीबाट सिकेको जीवनको पाठ हो, पीडाबाट जन्मिएको आत्मबल हो र जीवनलाई फेरि माया गर्ने संकल्प हो। आमा, बाबा र मेरा भाइहरू, तपाईंहरू मेरो जीवनमा हुनुहुन्न तर तपाईंहरूको माया मेरो हृदयबाट कहिल्यै हराउने छैन। म तपाईंहरूलाई गुमाएको पीडामा बाँचेकी छु तर तपाईंहरूले दिएको मायाको शक्तिमा अघि बढ्नेछु। म आफ्नो जीवनलाई सम्मान गर्नेछु, अरूलाई माया गर्नेछु र तपाईंहरूको सम्झनालाई आफ्नो शक्ति बनाउनेछु। म एक्लै तिहार मनाउँदै छु तर मेरो हृदयमा मेरो परिवार सधैं जीवित छ।
तिहारको उज्यालो सबैको घरमा पुग्छ तर कसैको मनभित्रको अँध्यारो बुझ्न माया, संवेदनशीलता र मानवीयता चाहिन्छ। यस तिहारमा हामी सबैले आफ्नो परिवारलाई माया गरौं, आमाबुबाको सम्मान गरौं, भाइबहिनीको सम्बन्धलाई जोगाऔं र दुःखमा परेका मानिसलाई साथ दिऔं किनकि जीवन छोटो छ, सम्बन्ध अमूल्य छन् र माया नै मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो।
आमाबुबाको माया र भाइहरूको साथ गुमाए पनि उहाँहरूले दिएको माया, संस्कार र सम्झना कहिल्यै बिर्सन सक्दिनँ। यही मेरो तिहारको कथा हो। यही मेरो बाल्यकालको सम्झना हो। यही मेरो पीडा हो। यही मेरो आत्मबल हो र यही मेरो जीवनको शक्ति हो। म एक्लै तिहार मनाउँदै छु तर हृदयमा परिवार सधैं जीवित छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।