विज्ञापन
कला तथा मनोरञ्जन

रङ, संगीत र उज्यालोको उत्सव: तिहार

दीपावली, यमपञ्चक तथा यमदीपदान नामले चिनिने पर्व तिहार नेपाली हिन्दु समाजको एउटा शारदीय उत्सव हो। प्रकृतिको शालीन स्वभाव र मनोरम दृश्ययुक्त वातावरण रहने शरद् ऋतुमा पर्ने यो चाड हिन्दुहरूको मौलिक पहिचान बोकेको अनुपम पर्व हो।

पाँच दिनसम्म मनाइने यस पर्वको धार्मिक, पौराणिक, सामाजिक र सांस्कृतिक महत्त्व अनुकरणीय छ। यो चाड केवल धार्मिक आस्था र परम्पराको निरन्तरता मात्र होइन, सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचान र सामूहिक खुसीको अभिव्यक्ति पनि हो।

घरआँगनमा ढकमक्क फुलेका सयपत्री, गोदावरी, मखमली, साँझपखको झिलिमिली बत्ती, देउसी–भैलोको सुमधुर गीत संगीत, मिठा मिठा परिकार र दाजुभाइ–दिदीबहिनीबिचको आत्मीयताले तिहारलाई नेपाली जनजीवनको अत्यन्त लोकप्रिय र उल्लासमय पर्व बनाएको छ।

विज्ञापन

वास्तवमा तिहार रङको उत्सव हो, संगीतको उत्सव हो र अन्धकारलाई चिर्दै उज्यालोतर्फ अघि बढ्ने जीवनदर्शनको मनोरञ्जनात्मक उत्सव पनि हो। त्यसैले नेपाली समाजमा तिहारको विशिष्ट मौलिक पहिचान रहेको छ।

मानिस जतिसुकै महान् र आधुनिक भए पनि उसलाई आफ्नो घरपरिवार तथा आफन्तजन चाहिन्छ। पवित्र पर्व तिहारमा त झन् दिदीबहिनी र दाजुभाइ चाहिन्छ। विश्वको जुनसुकै कुनामा पुगे पनि तिहारमा आफ्नोपनको खोजी अन्ततः घरकै आँगनमा आएर टुंगिन्छ। यस सन्दर्भमा नेपाली तिहारको सबैभन्दा मार्मिक पक्ष आज बिदेसिएका नेपालीहरूको कथा हो। हजारौं घरका ढोकाहरू आफ्ना सन्तानको प्रतीक्षामा हुन्छन्।

विमानस्थलमा झोला बोकेर फर्किने युवाको अनुहारमा केवल यात्राको थकान हुँदैन, त्यहाँ घर फर्किएको खुसी पनि हुन्छ। कतिपयका लागि तिहारमा घर फर्किनु सम्भव हुन्छ, कतिपयका लागि हुँदैन। फोनको स्क्रिनमा देखिने दिदीबहिनीको अनुहार, भिडियो कलबाट दिइने टीका र डिजिटल शुभकामनाले दुरी घटाउने प्रयास त गर्छ तर घरको आँगनको आत्मीयतालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन। यही कारण तिहारले हामीलाई एउटा अर्को प्रश्न पनि सोध्छ– किन हाम्रा युवाहरू आफ्नो परिवारसँग चाड मनाउन पनि विदेशमा निर्भर हुनुपर्ने अवस्था आयो? तिहारको खुसीसँगै देशभित्रै रोजगारीका अवसर र सम्मानजनक जीवन निर्माण गर्ने राष्ट्रिय आकांक्षा पनि जोडिनुपर्छ। घर फर्कने चाहना मात्र होइन, घरमै भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो।

तिहारका विधि फरक हुन सक्छन्, मनाउने शैली फरक हुन सक्छ तर यसको मूल भाव– आत्मीयता, पारिवारिक एकता, सद्भाव र शुभेच्छा नेपाली समाजको साझा सम्पत्ति हो। आज विश्वव्यापीकरणले हाम्रो जीवनशैली परिवर्तन गरिरहेको छ। नयाँ संस्कृति सिक्नु र नयाँ प्रविधि अपनाउनु आवश्यक छ तर आधुनिक हुनु भनेको आफ्नो जरा बिर्सनु होइन। बरु आधुनिकतासँग मौलिकताको सन्तुलन कायम गर्नु नै परिपक्व समाजको पहिचान हो।

समय फेरियो, मानिस फेरिए, जीवनशैली फेरियो तर तिहारको मूल भावना– दाजुभाइ तथा दिदीबहिनीबिचको आत्मीयता, आशिष्, भेटघाट, सद्भाव र पुनर्मिलन अझै जीवित छ। अब हाम्रो जिम्मेवारी यसलाई अझ रुचिपूर्ण र अर्थपूर्ण बनाउनु रहेको छ।

तिहार उज्यालोको पर्व हो तर यसको वास्तविक उज्यालो घरका झिलिमिली बत्तीमा मात्र सीमित छैन। यो त मनभित्रको अन्धकार हटाउने, सम्बन्धमा आत्मीयता बढाउने, श्रमको सम्मान गर्ने, प्रकृतिप्रति कृतज्ञ हुने र समाजमा सद्भाव फैलाउने अवसर हो। तिहारका पाँच दिन आफैंमा जीवनका पाँचवटा महत्त्वपूर्ण पाठ हुन्।

कागतिहारले प्रकृतिका हरेक जीवको अस्तित्व र महत्त्व स्वीकार गर्न सिकाउँछ। कुकुरतिहारले मानिसको विश्वासी साथीप्रति प्रेम, कृतज्ञता र करुणा व्यक्त गर्न प्रेरित गर्छ। गाईतिहार र लक्ष्मीपूजाले स्वच्छता, पवित्रता, धनधान्य र समृद्धिको कामना गर्छन्। घरआँगन सफा गरेर दीप प्रज्वलन गर्नु केवल धार्मिक विधि होइन, स्वच्छ र व्यवस्थित जीवनशैलीप्रतिको प्रतिबद्धता पनि हो।

गोरु तिहारले कृषि र उत्पादनमा श्रम गर्ने प्राणीप्रतिको सम्मान प्रकट गर्छ भने गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणको महत्त्व स्मरण गराउछ। नेवार समुदायको म्हःपूजाले आफ्नै शरीर, अस्तित्व र जीवनप्रति सम्मान गर्न सिकाउँछ। अन्तिम दिनको भाइटीकाले दाजुभाइ–दिदीबहिनीबिचको प्रेम, विश्वास, सद्भाव र संरक्षणको भावनालाई थप प्रगाढ बनाउँछ। यसरी तिहारले जीवजन्तु, प्रकृति, श्रम, आत्मसम्मान र पारिवारिक सम्बन्धलाई एउटै सांस्कृतिक सूत्रमा बाँधेको छ।

तिहारको अर्को अनुपम विशेषता यसको रंगीन सांस्कृतिक स्वरूप हो। सयपत्री, सुनाखरी, गुलाब, गोदावरी, मखमलीलगायतका घरेलु मालाले सजिएका घरगोठ, सप्तरंगी टीकाले रंगिएका निधार, विभिन्न परिकारको सुगन्ध र परम्परागत पहिरनले यस पर्वलाई जीवन्त बनाउँछ।

फूलको रङले प्रकृतिको सौन्दर्य अभिव्यक्त गर्छ भने सप्तरंगी टीकाले जीवनका विविधता, आशा र विश्वासका किरणहरूलाई प्रतिनिधित्व गर्छ। त्यसैले तिहारको रङ केवल आँखाले देख्ने दृश्यमा सीमित छैन, यसले नेपाली समाजको सांस्कृतिक विविधता र भावनात्मक एकतालाई समेत प्रतिबिम्बित गरेको छ।

संगीत तिहारको अर्को जीवन्त पहिचान हो। देउसी–भैलोका स्वरले गाउँबस्ती, सहर र टोललाई उल्लासमय बनाउँछन्। घरघरमा पुगेर गीत, संगीत र नृत्यमार्फत शुभकामना व्यक्त गर्ने परम्पराले समुदायबिच आत्मीयता र सहकार्यको भावना विकास गर्छ। परम्परागत देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र होइन, लोकसंस्कृति, सामाजिक चेतना र सामूहिक सिर्जनशीलताको जीवन्त अभिव्यक्ति पनि हो।

यसमा समाजका सुखदुःख, समसामयिक घटना, विकृति र विसंगतिलाई व्यङ्ग्यात्मक तथा सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने परम्परासमेत रहेको छ। बदलिँदो समयसँगै देउसी–भैलोका शैलीमा परिवर्तन आए पनि यसलाई खर्चिलो र भड्किलो नबनाई पृथक् मौलिकता र सामुदायिक भावनामा आधारित बनाउन आवश्यक छ।

तिहारको सबैभन्दा संवेदनशील र आत्मीय पक्ष पारिवारिक सम्बन्ध हो। आधुनिक जीवनशैली, रोजगारीको खोजीमा हुने बसाइँसराइ र वैदेशिक पलायनले परिवारका सदस्यहरू भौगोलिक रूपमा टाढा टाढा रहेका छन्। वर्षभरि भेट हुन नसकेका आफन्तजनबिच भेटघाट र आत्मीयता साटासाट गर्ने अवसर तिहारले प्रदान गर्छ।

दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई एकआपसमा टीका लगाइदिँदा व्यक्त हुने स्नेह, सम्मान र आत्मीयताले पारिवारिक सम्बन्धलाई औपचारिकताभन्दा माथि उठाउँछ। भाइटीकाको सार केवल निधारमा रङ लगाउनु होइन, जीवनभरि एकअर्काको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नु पनि हो। पारिवारिक सम्बन्धमा बढ्दो व्यस्तता र भावनात्मक दुरीबिच तिहारले सम्बन्ध र आत्मीयताको पुनर्जागरण गराउने अवसर प्रदान गर्छ।

धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै तिहारको आर्थिक आयाम पनि उत्तिकै महत्त्वपूर्ण छ। चाडपर्वको समयमा फूलमाला, फलफूल, मिठाई, खाद्यान्न, लत्ताकपडा, विद्युतीय सजावटका सामाग्री र उपहारको कारोबार बढ्छ। यसले कृषि, व्यापार, घरेलु उद्योग र सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्छ।

विशेषगरी फूल र फलफूलको व्यावसायिक उत्पादनले कृषि श्रमिक तथा उद्यमीका लागि आम्दानी र स्वरोजगारको अवसर सिर्जना गरेको छ। ‘घरफला खाऊ, घरबुना लाऊ’ भनेझैं स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिन सके तिहारले स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउनुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत योगदान पुर्‍याउन सक्छ। चाडपर्वको नाममा अनावश्यक आयात र देखासिकी बढाउनुको सट्टा स्वदेशी उत्पादन, स्थानीय सिप र उद्यमशीलतालाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ।

तिहारको पर्यावरणीय पक्ष पनि उत्तिकै विचारणीय छ। काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले मानिस र प्रकृतिबिचको अन्तरसम्बन्धलाई उजागर गर्छ। प्रकृतिका प्रत्येक जीवको अस्तित्वको सम्मान र संरक्षणबिना मानव सभ्यताको दिगो विकास सम्भव छैन तर पछिल्लो समय पटाका, आतसबाजी, अत्यधिक ध्वनि, प्लास्टिकजन्य सामग्री र कृत्रिम सजावटको अनियन्त्रित प्रयोगले पर्यावरणीय चुनौती थपेको छ।

यसै पनि जलवायु परिवर्तनका कारण हिमपहिरोले गर्दा नदी र खोलाकिनारका बासिन्दाहरूले अनाहकमा ज्यान गुमाउनुपरेको छ। त्यसमाथि पनि वायु तथा ध्वनि प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र पशुपंक्षीलाई समेत रोगी र अपांग बनाउँछ। टोल नै थर्किने गरी पटक पटक पटाका पड्काउँदा झस्किएको मुटु पुनः साधारण चालमा आउन समय लाग्छ। यसले मुटुका बिरामीहरू बढाउनुका साथै मानिसलाई झिजिने, झर्किने र रिसाउने बनाउँछ। त्यसैले मनोरञ्जनका नाममा तिहारलाई विकृत ढंगले नमनाई प्राकृतिक फूल, माटाका दियो, पुनः प्रयोग गर्न मिल्ने सजावट र ऊर्जा बचत गर्ने बत्तीको प्रयोगजस्ता पक्षलाई प्रोत्साहन गर्दै वातावरणमैत्री तिहार मनाउनुपर्छ। प्रकृतिको पूजा गर्ने पर्वमा प्रकृतिलाई नै प्रदूषित गर्नु हाम्रो सांस्कृतिक चेतनासँग मेल खाने विषय होइन। यसमा विशेष ध्यान पुर्‍याउन जरुरी छ।

तिहारको मौलिकता र गरिमामाथि केही चुनौती पनि देखिएका छन्। चाडपर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी, जुवातास, मदिराको दुरुपयोग, खाद्यवस्तुमा हुने मिसावट, कृत्रिम मूल्यवृद्धि र सडक दुर्घटनाजस्ता समस्याले पर्वको वास्तविक आनन्दलाई कमजोर बनाउन सक्छन्।

आर्थिक क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्तिले कतिपय परिवारमा आर्थिक बोझसमेत थप्ने गरेको छ। चाडपर्वको खुसीलाई प्रतिस्पर्धा र प्रदर्शनको विषय बनाउनुको सट्टा सरलता, मितव्ययिता र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्छ। यसका लागि परिवार, समुदाय, स्थानीय तह, प्रशासन र सुरक्षा निकायबिच प्रभावकारी समन्वय आवश्यक छ। बजार अनुगमन, उपभोक्ता सचेतना, सुरक्षा व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका माध्यमबाट पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिन्छ।

वास्तवमा तिहारको महत्त्व कुनै एउटा धर्म, समुदाय वा परम्परामा मात्र सीमित छैन। विभिन्न जातजाति र समुदायले आआफ्नै सांस्कृतिक विशेषतासहित मनाउने यस पर्वले नेपाली समाजको साझा पहिचानलाई बलियो बनाउने गरेको छ। विविधताभित्र एकता, भिन्नताभित्र सहअस्तित्व र व्यक्तिगत खुसीभित्र सामूहिक आनन्द खोज्ने नेपाली जीवनदर्शनको सुन्दर प्रतिबिम्ब तिहारमा देख्न सकिन्छ। यही विशेषताले यस पर्वलाई राष्ट्रिय सांस्कृतिक एकताको महत्त्वपूर्ण आधार बनाएको छ।

– शर्मा नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।