काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले सरकारलाई कानुनविपरीत पक्राउ र अनावश्यक धरपकड बन्द गर्न माग गरेका छन्।
समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको थापाको भनाइ छ। उनले विगतमा पनि शासकहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि प्रहार गरेका घटनाहरू स्मरण गर्दै यस्ता प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक भएको बताए।
थापाले भने, ‘नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो। नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ।’

उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै कुनै त्रुटि भएमा त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायतका कानुनी प्रक्रियाहरू विद्यमान रहेको उल्लेख गरे। उनले भने, ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु हो। सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ।’
कांग्रेसले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता दमनकारी कदम तत्काल सच्याउन जोडदार माग गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।