चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली हुनुका साथै वर्षा हुने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन्।
उनका अनुसार आगामी केही दिन देशका अधिकांश क्षेत्रमा बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् महर्जनका अनुसार चक्रवात ‘अर्नब’ हाल भारतको आन्ध्र प्रदेश आसपासको समुद्री क्षेत्रमा रहेको छ। यो चक्रवात बिस्तारै जमिनतर्फ प्रवेश गरिरहेको र आज दिउँसोसम्म जमिनमा प्रवेश गर्ने सम्भावना रहेको उनले बताइन्।

चक्रवातको प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भइरहेको छ। बिहान लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भएको महर्जनले जानकारी दिइन्। उनका अनुसार आज देशभर बदली हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
भोलिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने महर्जनले बताइन्।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताइन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभावसमेत रहने भएकाले मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने मौसमविद् महर्जनले जानकारी दिइन्।
मौसम विज्ञान विभागले आइतबार बिहानसम्मका लागि वर्षासम्बन्धी चेतावनी जारी गरेको छ। चेतावनी नक्साअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ। त्यस्तै, कोशी प्रदेशको पहाडी क्षेत्र, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि सतर्क रहन आग्रह गरिएको छ।
आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले कृषि कार्य, पदयात्रा तथा पर्वतारोहणमा संलग्न व्यक्तिलाई विशेष सावधानी अपनाउन महर्जनले आग्रह गरेकी छन्। उनले भनिन्, ‘माथिल्लो क्षेत्रमा ट्रेकिङका लागि गइसक्नुभएको छ वा त्यहीँ हुनुहुन्छ भने सुरक्षित स्थानतर्फ आउन अनुरोध गर्छु। आगामी दुई-तीन दिन कृषि तथा पर्वतारोहणका गतिविधि स्थगित गर्न पनि आग्रह गर्दछु।’
मौसमविद् महर्जनले यात्रामा निस्कनुअघि मौसमको पछिल्लो अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सुझाव दिएकी छन्। मौसमसम्बन्धी थप जानकारीका लागि विभागका आधिकारिक सूचना नियमित रूपमा हेर्न पनि उनले आग्रह गरेकी छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।