दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्।
निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन्। विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन्।

दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उनले बताए। नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
निकुञ्जभित्र वर्षात्का समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत् रूपमा सञ्चालन हुने गर्दछ। निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन्। ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन्। यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ। रासस



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।