काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी यही कात्तिक २६ गते रिहा हुने भएका छन्।
६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउने भएका हुन्। जिल्ला अदालत काठमाडौंले उनको मागबमोजिम ६ महिना कैद छुट दिने आदेश गरेको छ।
रायमाझीका तर्फबाट कात्तिक १२ गते ज्येष्ठ नागरिकको सुविधा उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कैद छुटको सुविधा दिने निर्णय गरेको हो।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्छन्। सोही व्यवस्थाअनुसार रायमाझीले बाँकी रहेको ६ महिना कैद छुट पाउने भएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई गत असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। उनी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए।
हाल डिल्लीबजार कारागारमा रहेका रायमाझीको कैद छुटसम्बन्धी आदेश कार्यान्वयनका लागि अदालतले कारागार प्रशासनलाई पत्र पठाइसकेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।