नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियानले तीनवटा मुख्य पक्षलाई समेट्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारदेखि अभियान सुरु भएको घोषणा गर्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतन्त्रको रक्षा, सुशासन र जनजीविकाका मुद्दालाई पहिलो प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार अभियानको दोस्रो उद्देश्य पार्टीको राष्ट्रिय महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नु र त्यसको तयारी गर्नु हो। त्यस्तै, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा त्यसका लागि आवश्यक आधार निर्माण गर्नु अभियानको तेस्रो उद्देश्य रहेको उनले बताए।

श्रेष्ठले अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरू जनतामाझ जाने र पार्टीका सकारात्मक पक्षलाई निरन्तरता दिँदै गल्ती तथा कमजोरीप्रति आत्मालोचक भएर प्रस्तुत हुने बताए।
‘सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरू जनताको माझमा आफ्ना सकारात्मक पक्षहरूलाई निरन्तरता दिने र गल्ती कमजोरीहरूप्रति आत्मालोचक भई सच्याउने प्रतिबद्धतासहित विनम्रतापूर्वक प्रस्तुत हुनेछन्,’ उनले भने।
राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा तथा सुशासन र जनजीविकाका सवाललाई केन्द्रमा राखेर जनतामाझ जाने नेकपाले जनाएको छ। साथै, महाधिवेशन र आगामी निर्वाचनको तयारीलाई समेत अभियानसँग जोडेर अघि बढाइने श्रेष्ठको भनाइ छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।