धनकुटा। कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्।
जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीं अहिले मौरीका घार राखिएका छन्। जङ्गलका रुख बिरुवा, खोलानाला र प्राकृतिक वातावरणको उपयोग गर्दै किसानले मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि धनकुटामा मौरीपालनप्रति आकर्षण बढ्दै गएको छ।
खेती गर्न कठिन जमिनलाई समेत उपयोगमा ल्याएर आम्दानी गर्न सकिने भएपछि स्थानीय किसानका लागि मौरीपालन वैकल्पिक पेसा मात्र नभई आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ। थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने यस व्यवसायले ग्रामीण क्षेत्रमा नयाँ आर्थिक सम्भावनाको ढोका खोलेको छ।

धनकुटा नगरपालिका वडा नं १ का दुर्गा दर्लामी यसका एक उदाहरण रहेका छन्। उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।
पाख्रिबास नगरपालिका–९ मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्न सक्नु उनका लागि सन्तुष्टिको विषय बनेको छ। परम्परागत खेतीपातीबाट पर्याप्त लाभ लिन कठिन हुने ठाउँमा मौरीपालनले आम्दानीको सम्भावना देखाएको उनको भनाइ छ।
दर्लामीको जस्तै अनुभव विदेशबाट फर्किएका शुक्र राईको पनि छ। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मौरीपालनमा सम्भावना देखे र यही व्यवसायलाई आफ्नो कर्मथलो बनाएका छन्। सामान्य रूपमा सुरु गरेको मौरीपालन अहिले उनको व्यावसायिक पहिचान बनेको छ।
हाल राईसँग २०० भन्दा बढी आधुनिक मौरीघार छन्। उनले मौरीपालनसँगै आधुनिक मौरीघार उत्पादन गर्ने उद्योग समेत सञ्चालन गरिरहेका छन्। वार्षिक ५०० देखि ७०० सम्म मौरीघार निर्माण गरी मौरीसहित र घार मात्रै बिक्री गर्दै आएको उनको भनाइ छ। मह, मौरी र मौरीघार बिक्रीबाट उनले वार्षिक २० देखि २२ लाख रुपैंयाँसम्म आम्दानी गर्दै आएको बताए।
प्राकृतिक वातावरणले दिएको अवसर
धनकुटाको भौगोलिक बनावट र हावापानी मौरीपालनका लागि अनुकूल मानिन्छ। विशेष गरी जिल्लाको तल्लो क्षेत्रका गर्मी हुने भूभाग, वनजङ्गल र खोला नजिकका स्थान मौरीपालनका लागि उपयुक्त देखिएका छन्। वन जङ्गलमा पाइने विभिन्न वनस्पति र फूलबाट मौरीले आहारा संकलन गर्न पाउने भएकाले यस्ता क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ। खेतीयोग्य जमिनको अभाव वा चट्टानी भूभागका कारण कृषि उत्पादन गर्न नसकिने ठाउँलाई समेत मौरीपालनमा उपयोग गर्न सकिन्छ।
यही प्राकृतिक अनुकूलताका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किसानले मौरीका घार विस्तार गर्न थालेका छन्। कम जमिनमा पनि सञ्चालन गर्न सकिने र अन्य कृषि गतिविधिसँगै व्यवस्थापन गर्न सकिने भएकाले यस व्यवसायले किसानको ध्यान तानिरहेको छ। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ।

जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिक टन मह उत्पादन हुने गरेको छ। मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेको केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए। उनले यो तथ्याङ्कले धनकुटामा मौरीपालन व्यक्तिगत आम्दानीको माध्यममा मात्र सीमित नरही जिल्लाकै कृषि अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायका रुपमा विकास भइरहेको देखाएको बताए।
महको बजार विस्तार, किसानमा उत्साह
धनकुटामा उत्पादन हुने महको बजार पनि विस्तार हुँदै गएको छ। स्थानीय बजारदेखि तराईका विभिन्न सहर र काठमाडौं उपत्यकासम्म यहाँको मह पुग्ने गरेको छ। उत्पादित मह अन्तर्राष्ट्रिय बजारसम्म समेत पुग्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। विषादीरहित उत्पादनका रुपमा बजारमा पहिचान बनाउन सकेको धनकुटाको महप्रति उपभोक्ताको आकर्षण बढेको छ।

बजारको माग र बिक्रीको सम्भावनाले किसानलाई उत्पादन विस्तार गर्न थप उत्साहित बनाएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा जिल्लाकै बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ।
विषादी प्रयोग चुनौती बन्दै
सम्भावना हुँदाहुँदै पनि मौरीपालन व्यवसाय चुनौतीमुक्त भने छैन। विशेष गरी जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारी खेतीमा विषादीको प्रयोगले मौरीपालनमा समस्या सिर्जना गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रानामगर बताउँछन्। विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्ने भएकाले मौरीपालक किसानका लागि यो गम्भीर चुनौती बनेको छ। कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबीच समन्वय र सचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ।
आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरीको स्वास्थ्य व्यवस्थापन, उत्पादनको गुणस्तर र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानको भनाइ छ। कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गरी मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। यसबाट कृषि क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्र प्रमुख रानामगरको भनाइ छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।