जुम्ला । बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ। रैथाने बालीका रूपमा रहेको कोदोको व्यावसायिक उत्पादन र खेती विस्तार हुन नसक्दा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएको हो।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार पछिल्लो समय कोदो खेती गर्ने किसानको सङ्ख्या घटिरहेको छ । बजारमा कोदोको पिठोको माग उच्च रहे पनि उत्पादन बढाउन र खेती विस्तार गर्न पर्याप्त ध्यान पुग्न सकेको छैन।
कोदो उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोग प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक पहल गर्न नसकेको किसानको गुनासो छ । लोपोन्मुख अवस्थामा पुगेको कोदो खेतीको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायले चासो नदेखाएको तिला गाउँपालिका–१ राराका अगुवा किसान नर रावतले बताए ।

जिल्लाका गाउँघरमा किसानको आकर्षण कोदो खेतीभन्दा तरकारी तथा नगदे बालीतर्फ बढ्दै गएको छ । विशेषगरी तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती हुने गरेको छ । तर, पछिल्लो समय खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीले बताए ।
कोदो खेती घट्दै गए पनि बजारमा यसको पिठोको माग भने बढिरहेको छ । हाल जुम्लामा कोदोको पिठो प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुने गरेको छ। आन्तरिक पर्यटकको रोजाइमा समेत कोदोको परिकार पर्न थालेको स्थानीय व्यापारी अर्जुन बुढाले बताए। उनका अनुसार बजारमा कोदोको पिठोको माग उच्च छ ।
जिल्लामा उत्पादित रैथाने बाली हराउँदै जान थालेपछि किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा परम्परागत अन्नबाली लगाउने क्रम घटेको छ भने कतिपय जमिन बाँझै रहन थालेका छन् । कृषि पेसाप्रति युवा पुस्ताको आकर्षण कम हुँदा रैथाने बालीको उत्पादनमा समेत असर परेको छ ।
परम्परागत रूपमा खेती गर्दै आएका पाका पुस्ताले मात्रै कोदो लगायतका रैथाने बाली लगाउने गरेका छन् । युवा पुस्ताले यस्ता बालीको उत्पादनमा खासै चासो नदेखाउँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दै गएको स्थानीयको भनाइ छ । एक दशकअघिसम्म जिल्लाका उच्च पहाडी क्षेत्रमा व्यापक रूपमा कोदो खेती हुने गरे पनि पछिल्ला वर्षमा यसको उत्पादन घटेको छ ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको थियो । जिल्लाका आठवटै स्थानीय तहमा हाल दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कार्यालयले जनाएको छ ।
बजारमा माग बढ्दै गएको अवस्थामा कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा सम्बन्धित निकायले ध्यान दिन सके रैथाने बालीको प्रवर्द्धनसँगै किसानको आम्दानी बढाउन सकिने देखिन्छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।