काठमाडौ।यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने जानकारी दिए ।

भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने भएको छ । भिटामिन ‘ए’ सबै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकेको छ ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।