काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
शाहीले आईजीपीले अपराध गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने र गल्ती नगरेको भए व्यक्तिगत स्वार्थका आधारमा जिम्मेवारी हेरफेर गर्न नहुने टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले आईजीपीलाई कुनै अपराध गरेको भए सल्लाहकार बनाएर होइन, कानुनी प्रक्रियाअनुसार जेल पठाउनु पर्ने बताएका छन्।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो,’ उनले लेखेका छन्।
त्यस्तै, कुनै गल्ती वा कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा जिम्मेवारी हेरफेर गर्नु राज्य सत्ताको दुरुपयोग र भ्रष्ट आचरण भएको उनको टिप्पणी छ।
सरकारले बुधबार दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।