विज्ञापन
राजनीति

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता

वासिङ्टन।अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ।

दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरेकी छन्। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेट सिट जित्ने पहिलो डेमोक्रेट बनेकी छन्।

उत्तरी क्यारोलिना र न्यु जर्सीमा पनि डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन्। जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन्। सिनेटमा बहुमतका लागि डेमोक्रेटहरूलाई चार सिटको खुद लाभ आवश्यक छ भने प्रतिनिधिसभामा तीन सिट जित्नु पर्नेछ।

विज्ञापन

चुनावमा उच्च मूल्यवृद्धि, जीवनयापनको लागत र सरकारी भ्रष्टाचार मतदाताका प्रमुख चासो बनेका छन्। एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन्। त्यति नै संख्याले अर्थतन्त्र राम्रो नभएको वा कमजोर रहेको बताएका छन्।

करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको जनाएका छन्। १० मध्ये ६ मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको बताएका छन्।

ट्रम्पले मुद्रास्फीति समाधान भएको दाबी गरे पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशत बढेको थियो।

चुनावलाई उनको दोस्रो कार्यकालको जनमतसंग्रहका रूपमा हेरिएको छ। मङ्गलबारअघि पाँच करोड ९० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका थिए।

रिपब्लिकनहरूले निर्वाचन क्षेत्र पुनः निर्धारण गरेर सिट जोगाउने प्रयास गरे पनि फ्लोरिडामा चार नयाँ सिट जित्ने उनीहरूको अपेक्षा कमजोर देखिएको छ। टेक्सास र उत्तरी क्यारोलिनामा ट्रम्पले समर्थन गरेका उम्मेदवारले पनि चुनौती सामना गर्नुपरेको छ। सिनेटका अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा ओहायो, अलास्का र मिशिगन छन्।

यसैबीच, ३६ राज्यमा गभर्नरका लागि भएको चुनावमा पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कका डेमोक्रेटिक गभर्नर पुनः निर्वाचित भएका छन्। जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्ने छिन्।

चुनावी नतिजाले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ। रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसले यसअघि उनका अधिकांश योजनालाई समर्थन गरेको थियो।

तर डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण लिए राष्ट्रपति प्रशासनमाथि छानबिन र सम्भावित महाभियोग प्रक्रिया अघि बढाउन सक्ने छन्। रक्षामन्त्री पीट हेगसेथ र ट्रम्पका पूर्व सल्लाहकार तथा प्रविधि उद्यमी एलन मस्क पनि सम्भावित छानबिनका विषय हुन सक्ने छन्।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले नियन्त्रण प्राप्त गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सारेका छन्। उनी सभामुख निर्वाचित भए अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्ने छन्।

डेमोक्रेटहरूको बलियो प्रदर्शनले आगामी राष्ट्रपतीय चुनावका लागि पार्टीभित्रका सम्भावित उम्मेदवारलाई बलियो बनाउनुका साथै उपराष्ट्रपति जेडी भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक यात्रालाई चुनौती दिन सक्छ। –रासस /एपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।