सुपरदोर्दी जलविद्युत् आयोजनाको मुख्य सुरुङ छेडियो

 कोरखबर   २७ पौष, २०७८



२७ पुस, लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो ।

पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थ्रु गर्न सफल भएको हो । केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक ब्रेक थ्रु गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । उनले भने, ‘हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ ।’

यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ । उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post