सिन्धुपाल्चोकमा ९१ मेगावाटका थप तीन आयोजना बन्दै !

 कोरखबर   २८ कार्तिक, २०७८



कार्तिक २८, काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी नदीबाट ९१ मेगावाटका तीन विद्युत् आयोजना निर्माण सुरु भएको छ ।

जुगल गाउँपालिकाको तेम्बाथानमा दुई आयोजना निर्माण गरिने छ। यसका लागि विद्युत् खरिद सम्झौता भइसकेको छ । निर्माणको चरण पनि सुरु भइसकेको आयोजनाहरुको भनाइ छ ।

शैलुङ पावर कम्पनी प्रालिले ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजना बनाइरहेको छ । भोटेकोसी गाउँपालिकामा अढाई दशकअघि बनेको ४५ मेगावाटको अपर भोटेकोसी आयोजनाको पावर हाउसबाट निस्केको पानी प्रयोग गरेर उक्त नयाँ आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । विद्युत् खरिद सम्झौता एक वर्षअघि नै भइसकेको छ भने लागत करिब ८ देखि ९ अर्ब लाग्ने अनुमान रहेको उनले बताए ।

भोटेकोसीको पानी करिब तीन किमि सुरुङबाट स्थानीय चाकुमा निर्माण हुने अन्डरग्राउन्ड पावरहाउसमा प्रवेश गराइनेछ । आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर निर्माण सुरु गरेको पौडेलले जनाए । बैंक ऋणको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने उक्त आयोजनाका लागि प्रवेशमार्ग निर्माण, जग्गा अधिग्रहणलगायत काममा झन्झट नरहेको उनले बताए । आयोजनाको निर्माण सहज हुने अनुमान गरिएको पौडेलको भनाइ छ ।

ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ३६.५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण थालेको छ । जुगल गाउँपालिकास्थित हिमाली भेग तेम्बाथान बस्तीको अर्को साइटमा निर्माण हुने यो आयोजनाको लागत करिब ७ अर्ब छ । यस आयोजनामा पनि विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । उक्त आयोजनाको सुरुङ ६ किमिको हुनेछ । आयोजनाको हेड ५ सय ५२ मिटर हुने र यसले वर्षेनी करिब एक अर्ब २२ करोडको विद्युत् बिक्री गर्ने कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालिले १५.१५ मेगावाटको अप्पर ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण गर्दै छ । जुगल हिमालको फेदीमा निर्माण गरिने उक्त आयोजनाका लागि करिब तीन अर्ब लगानी हुने अनुमान छ । लगानबेसीमा निर्माण हुने उक्त आयोजनामा जुगल हिमालबाट बग्ने नाम्या मसाल खोलाको पानीबाट विद्युत् उत्पादन गरिने हाइड्रो फन्डका अध्यक्ष भरत पराजुलीले बताए । बर्सेनि ५२ करोडको विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । अहिले आयोजनामा पुग्ने प्रवेशमार्ग निर्माण भइरहेको छ । काठमाडौंबाट ११० किमि दूरीमा पर्ने दुवै आयोजना निर्माणका लागि संस्थापक सेयर २५ र बैंक ऋण ७५ प्रतिशत रहने पराजुलीले जानकारी दिए । –कान्तिपुरबाट 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post