पुस ६, रामेछाप । लिखु नदीको पानी प्रयोग गरी निर्माण थालिएको लिखु 'ए' जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुको लिखु पिके गाउँपालिकाको बीचमा पर्ने उक्त आयोजनाको २९.४ मेघावाट विद्युत उत्पादन क्षमता छ।
‘उत्पादन गृहको केहि दिनदेखि परीक्षणको क्रममा छौं,’ एमभी दुगडद्वारा प्रवर्द्धित नुम्बुर हिमालय हाईड्रोपावर लिमिटेडका सञ्चालक राजन खत्रीले भने, ‘ विभिन्न परिक्षणको काम पुरा गर्न अव १५ दिन लाग्छ ।’
लिखु खोलाको पानीलाई राङदहमा बाँध निर्माण गरी साढे २ किलोमिटर भूमिगत सुरुङमार्गबाट सोलु जिल्लाको लिखु पिके गाउँपालिका २ मा पर्ने बुकुदोभानमा निर्माण भएको उत्पादन गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो । उत्पादित विद्युत बुकुदोभानदेखि रामेछापको देविटारस्थित न्यू खिम्ती सब–स्टेशन सम्म करिब ३० किलोमिटर १ सय ३२ केभी प्रशारण लाइन मार्फत पुर्याई नेपाल विद्युत प्राधिकरणको केन्द्रीय ग्रीडमा जोडिने छ।
तीन वर्षमा उत्पादन गर्ने लक्ष्य लिएर करिब ५ वर्षअघि आयोजनाको निर्माण थालिएको हो । १ वर्ष प्रवेश सडकको निर्माण र अर्को १ वर्ष कोभिडका कारण काममा ढिलाइ हुन गएको खत्रीले बताए ।
एमभी दुगडकै लगानीमा लिखु नदीमा अन्य दुई ठूला जलविद्युत आयोजनाको निर्माण पनि सँगै थालिएकोमा उक्त आयोजनाहरुको काम तीव्र रुपमा भइरहेको छ । ७७ मेघावाट क्षमताको लिखु १ मा करिब ५० प्रतिशत र ५५ मेघावाटको लिखु २ मा करिब ७० प्रतिशतको काम पूरा भएको खत्रीले जनाएका छन् । उक्त दुवै आयोजनाबाट उत्पादित विद्युत आयोजनाले निर्माण गरेको प्रसरण लाइनबाटै न्यू खिम्ती सब स्टेशनमा पुर्याउने लक्ष्य रहेको छ । एमभी दुगडको लगानीका तीनवटै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको उनले बताए ।