बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपाल टेलिकमको लाइसेन्स खारेज !

 कोरखबर   १२ मंसिर, २०७८



मंसिर १२, काठमाडौं । अजेयराज सुमार्गीको नाममा रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) टेलिकम लाइसेन्सको अनुमति खारेज भएको छ। 

दूरसञ्चार प्राधिकरणले कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै अनुमति खारेज गरेको हो। दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो।

शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेको थियो। सो बैठकले बक्यौता तिर्ने प्रतिबद्धता समेत नजनाएको भन्दै अनुमति खारेज गर्ने निर्णय गरेको हो।  हेलो नेपाल यसअघि पनि खारेजीमा परेको थियो। तर बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि गत वर्ष खारेजीको प्रक्रिया रोकिएको थियो। 

प्राधिकरणका निर्देशक सन्तोष पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम हेलो नेपालको अनुमति खारेज गरिएको जानकारी दिए।   उनले भने, ‘किस्तामा बक्यौता तिर्नुपर्ने सुविधा दिएका थियौँ। त्यसअनुसार पनि नतिरेपछि बोर्डले अनुमति खारेज गरिदिएको हो।’

प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रका अनुसार १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो। त्यतिखेर कम्पनीलाई त्यसको पुनरवलोकनका लागि समेत अवसर दिइएको थियो। त्यस समयको मन्त्रिपरिषद्को बैठकले नै किस्तामा बक्यौता तिर्नको लागि सुविधा दिएको थियो।  मन्त्रिपरिषद्को बैठकले त्यो अन्तिम अवसर भएको र त्यसपछि प्राधिकरणले ऐनबमोजिम गर्नुपर्ने उल्लेख गरेको थियो।  किस्ता सुविधा दिएपछि जम्मा एक किस्ता तिरेको उपनिर्देशक मिश्रले जानकारी दिए।

उनले भने, ‘एक किस्ताभन्दा बढी नतिरेपछि प्राधिकरण ऐनअनुसार खारेज भएको हो।’ प्राधिकरणका अनुसार अब हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post