पुष १, काठमाडौं । अब भाइबरबाटै रकम पठाउन तथा मोबाइल रिचार्ज गर्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा र लोकप्रिय म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवा प्रदान गर्न सहकार्य सुरु भएको हो ।
यससँगै भाइबर प्रयोगकर्ताले सहज रूपमा आफ्नो ईसेवा खाता भाइबरसँग लिंक गराएर टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एसिया प्रशान्त क्षेत्रमै पहिलो पटक भएको बताइएको छ ।
यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । ईसेवाका सीओओ रोशन लामिछाने विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्न थालिएको बताए ।
‘यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति दिलाउनेछ र नेपालको डिजिटल कारोबारलाई अगाडि बढाउन ठूलो भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने । यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले उपभोक्ताको सहजताका लागि प्रयोगकर्ताबीचको मित्रता र उपयोगितता सधैं आफूहरुको प्राथमिकतामा रहेको बताइन् ।
भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका समेत रहेको छ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोगकर्ताले ल्यापटप उपहार पाउनेछन् ।
प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र ईसेवा दुवै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरिएको बताएका छन् ।