पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन भएका छन् । परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो। अधिवेशनपछि बाँकी पदाधिकारी तथा सदस्यको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा आचार्य कोषाध्यक्षमा चयन भएका हुन् ।
पर्यटन क्षेत्रमा सन् १९९८ देखि सक्रिय आचार्यले अध्ययनसँगै पार्टटाइम कामका रूपमा ट्रेकिङ क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए । ट्रेकिङमा सहायक गाइडका रूपमा काम सुरु गरेका उनले अनुभव र निरन्तरको सक्रियतासँगै पर्यटन व्यवसायमा आफ्नो पहिचान स्थापित गरेका हुन् । सन् २००८ मा उनले इथिकल ट्रेकिङ नेपाल स्थापना गरी पर्यटन व्यवसायलाई संस्थागत रूपमा अघि बढाएका थिए ।

पर्यटन व्यवसायीको साझा संस्था टान गण्डकीमा सन् २००९ मा सदस्यका रूपमा आबद्ध भएका आचार्यले विभिन्न जिम्मेवारी निर्वाह गर्दै सन् २०२४ देखि २०२६ सम्म अध्यक्षको नेतृत्व सम्हालेका थिए । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) गण्डकी प्रदेशको पर्यटन संयोजकसमेत छन् ।
पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधिमा सक्रिय आचार्यले अल्ट्रा म्याराथनको प्रवर्द्धनमार्फत साहसिक पर्यटनको विकास र विस्तारमा समेत योगदान पुर्याउँदै आएका छन् ।
पर्यटन क्षेत्रमा करिब तीन दशकको अनुभव, व्यावसायिक संलग्नता र संस्थागत नेतृत्वको अनुभव भएका आचार्यको परिषद्मा आगमनले पोखराको पर्यटन प्रवर्द्धन तथा आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पोखरा पर्यटन परिषद् पोखराको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि क्रियाशील संघसंस्थाहरूको छाता संस्था हो । पोखरामा रहेका पर्यटनसम्बद्ध विभिन्न संघसंस्था तथा व्यवसायीलाई एकीकृत गर्दै पर्यटनका साझा मुद्दा उठाउने, नीतिगत पैरवी गर्ने, पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने तथा पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न परिषद्ले भूमिका निर्वाह गर्दै आएको छ । पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाबीच समन्वय र सहकार्य गर्दै परिषद्ले पोखराको पर्यटन विकासका लागि काम गर्दै आएको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।