नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको डे-नाइट खेलमा काठमाडौं गोर्खाजले सुरुवाती विपत्ति पार गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८३ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाडौंका लागि अलराउन्डर रसिद खानले विष्फोटक ब्याटिङ गरिरहेका छन्।
उनले मात्र २० बलमा १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४० रन जोडेका छन्। रसिदलाई क्रिजमा सहन अराचिगे १ रन बनाएर साथ दिइरहेका छन्।

काठमाडौंले पछिल्लो ५ ओभरमा आक्रामक खेल्दै १ विकेट गुमाएर ६० रन बटुलेको हो। १३ रनमै २ विकेट गुमाएपछि दबाबमा परेको काठमाडौंलाई रसिद र विलियम बोसिस्टोले ६२ रनको साझेदारी गर्दै उकासेका थिए।
बोसिस्टोले २२ बलमा १ छक्कासहित २७ रन बनाए। उनी ९.३ ओभरमा सिकन्दर राजाको बलमा क्याच आउट भए।
यसअघि काठमाडौंका प्रमुख विदेशी स्टार ब्याटर डेभिड वार्नर व्यक्तिगत १ रनमै कमल ऐरीको बलमा बोल्ड भएका थिए भने विकेटकिपर साहिल पटेल १२ बलमा १ चौकासहित ८ रन बनाएर रिजन ढकालको सिकार बने।
चितवनका लागि बलिङतर्फ रिजन ढकालले २ ओभरमा मात्र २ रन खर्चेर १ विकेट लिए। यस्तै कमल ऐरीले २ ओभरमा ११ रन र सिकन्दर राजाले २ ओभरमा १४ रन दिएर समान १-१ विकेट हात पारे।
कुशल मल्लले २ ओभरमा ३९ रन र रञ्जित कुमारले २ ओभरमा १७ रन खर्चिएका छन्। काठमाडौंले अतिरिक्त ६ रन पाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।