पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १३३ रन मात्र बनाएको छ। कर्णालीलाई जितका लागि अब अन्तिम ४ ओभरमा ८५ रनको असम्भवप्रायः लक्ष्य बाँकी छ।
इनिङ्सको १५ औं ओभरको अन्तिम बलमा टोलीको स्कोर १३० रन हुँदा कप्तान सोमपाल अनौठो तरिकाले आउट भए। कामी आफूले सट खेलेपछि पिचमा बाउन्स भएर फर्केको बललाई पुन: प्रहार गर्दा आउट भएका हुन्।

उनले दोस्रो पटक बल प्रहार गरेपछि पोखरा एभेन्जर्सका विकेटकिपर अर्जुन घर्तीसहितले अपिल गरेका थिए। टेलिभिजन अम्पायरले अम्पायर रिभ्युपछि सोमपाललाई आउट दिए
रन लिने क्रममा फिल्डिङमा अवरोध पुर्याएको ठहर गर्दै अम्पायरले उनलाई ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट दिएका हुन्। सोमपालले १९ बलमा १ चौकासहित २१ रन बनाए।
कप्तान सोमपाल र पवन सर्राफ मिलेर सातौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर सोमपालको अप्रत्याशित बहिर्गमनसँगै कर्णालीको जितको सम्भावना लगभग समाप्त भएको छ। हाल क्रिजमा पवन २८ बलमा ३१ रन र नन्दन यादव ३ बलमा १ रन बनाएर खेलिरहेका छन्।
पोखराका लागि स्पिनर मेहदी हसनले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै मात्र २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
यस्तै धनन्जय लक्षणले ३ ओभरमा १८ रन, विपिन खत्रीले ३ ओभरमा ३० रन र कुशल भुर्तेलले ३ ओभरमा ३४ रन दिएर समान १-१ विकेट हात पारे।
यसअघि कर्णालीका ओपनर जिशान आलम शून्य, आरिफुल इस्लाम २४, मार्क वाट ८, दीपक डुम्रे २२, डेविड मिलर ७ र गुलशन झा २ रन बनाएर आउट भइसकेका छन्।
चामिका करुणारत्नेले २ ओभरमा २१ रन र सन्नी बिकले १ ओभरमा ५ रन दिएका छन्। कर्णालीले अतिरिक्त १७ रन पाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।