बाँके।निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत संकलन गरी त्यसका आधारमा जल व्यवस्थापन गर्न थालेको छ। आयोजनाले पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा र प्रशाखाबाट सिंचाइ सुविधा लिइरहेका तथा भविष्यमा लिने किसानको लगत संकलन गरिरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए।
सिंचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य हुने भएकाले किसानको लगत संकलन अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर लगत संकलन गरिएको हो।
“सिंचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ। यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ”, निर्देशक आचार्यले भने, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार र आवश्यक पूर्वाधार निर्माणसहित जल व्यवस्थापनको काम गर्नेछ।”

पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत संकलनका लागि छलफल गरिएको उनले बताए।
आयोजनाको आगामी योजना निर्माणमा सहजता ल्याउन सिञ्चित क्षेत्रका किसानको लगत संकलन गरिएको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले बताए। उनका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत संकलन अन्तिम चरणमा पुगेको छ।
आयोजना निर्देशक आचार्यका अनुसार आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। हालसम्म पूर्वाधार निर्माणमा करिब २४ अर्ब खर्च भएको छ। मर्मत–सम्भारको काम नियमित रूपमा भइरहे पनि निर्माणको बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।
आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ। आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य छ। हालसम्म २५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।