काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरण र विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक नगरेको विषयलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै उनले समाचार प्रकाशनकै आधारमा सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको बताए।
प्रधानमन्त्रीको सचिवालय र प्रहरीबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति तथा २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषयले घटनालाई थप गम्भीर बनाएको उनको भनाइ थियो। पत्रकार रिहा हुँदैमा प्रकरण टुङ्गिने नभई राज्यशक्तिको प्रयोगबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए।

थापाले गृहमन्त्रीको सम्पत्तिसम्बन्धी विवाद, भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नभएको विषय समेत उठाए। छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिले सरकारी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको उनले बताए।
सरकारले आफू अनुकूलका विषयमा मात्रै छानबिन प्रतिवेदन प्रयोग गर्ने गरेको आरोप लगाउँदै उनले नागरिकप्रति जवाफदेही हुन सरकारलाई आग्रह गरे।
राज्यका निकायलाई व्यक्तिगत इच्छा र आदेशका आधारमा परिचालन गर्न नहुने उल्लेख गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेसले राजनीतिक तथा संस्थागत रूपमा प्रतिवाद गर्ने चेतावनी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।