विज्ञापन
राजनीति

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

पार्टी सभापतिलाई पक्राउ गर्न लागिएको भन्दै फैलाइएको हल्लाप्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकार विधिको शासन नभई सनक र राजनीतिक प्रतिशोधका आधारमा चलेको आरोप लगाएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि नै दुई दिनसम्म प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको निजी निवासमा राखिएको दाबी गरेका छन्।

विज्ञापन

अनुसन्धानको संवेदनशील डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु कानुनी राज्यको उपहास भएको उनको ठहर छ।

‘फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो ?,’ पौडेलले प्रश्न गरेका छन्, ‘त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, सामग्रीको स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको विषयमा कसले जवाफ दिने ? अनुसन्धानको प्रमाण निजी निवासमा पुर्‍याएर के लुकाउन र कसलाई जोगाउन खोजिएको थियो ?’

महामन्त्री पौडेलले बिचौलियासँग प्रधानमन्त्री र उनको सचिवालयको साँठगाँठबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन्। बिचौलियालाई यति लामो समयसम्म कसले संरक्षण गर्‍यो र ऊ कसको पहुँच र प्रभावमा काम गरिरहेको थियो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र ९३ आकर्षित हुने स्मरण गराउँदै पौडेलले प्रमाण नष्ट गर्ने र कसुरदार जोगाउने कार्य कानुनतः दण्डनीय भएको उल्लेख गरेका छन्।

उनले प्रश्न गरेका छन्, ‘निष्पक्ष अनुसन्धान हुने हो भने यतिबेला जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

बिनापक्राउ पुर्जी प्रहरी न्यूजरुममा प्रवेश गरेको घटनाको स्मरण गराउँदै उनले आफूहरूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न सभापतिको गिरफ्तारीको हौवा पिटाइएको बताएका छन्।

‘स्क्रिप्ट, कथा, भाष्य र पात्रहरू तिमीहरूकै, अनि प्रश्नको कठघरामा चाहिँ हामी ? अनुसन्धानको विषयलाई राजनीतिक प्रतिशोधको हतियार बनाउन पाइँदैन,’ उनले लेखेका छन्।

गिरफ्तारीको धम्की दिएर आफ्ना प्रश्नहरू नदबिने चेतावनी दिँदै महामन्त्री पौडेलले सत्ता र प्रहरी-प्रशासनको प्रभावले सत्य नलुक्ने दाबी गरे।

दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताउँदै उनले यस प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म आफूहरू पछि नहट्ने स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।