कैलालीको चुरे गाउँपालिका–१, तुलीखेतका ५२ वर्षीय यज्ञबहादुर बोहराको हत्या गरी शव भीरमा फालेको आरोपमा पास्नी भोजमा सँगै मदिरा सेवन गरेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापाको इजलासले घटनामा आरोपित आठै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अदालतको आदेशपछि घरमुली धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा कारागार चलान भएका छन्।

घटना के थियो ?
गत असोज ५ गते चुरे गाउँपालिका–१, तुलीखेतका ५२ वर्षीय यज्ञबहादुर बोहरा श्रीमती मिना बोहरासँगै गाउँकै दाजु नाता पर्ने धनबहादुर बोहराको नातिको पास्नीमा गएका थिए।
पास्नीको भोजसँगै डिजे बजाएर सहभागीहरू रमाइरहेका थिए। घरमाथिको सडकछेउमा घरमुली धनबहादुर, यज्ञबहादुरसहित नौ जना पुरुषले मदिरा सेवन गर्न थालेका थिए।
साँझ खाना खाएर घर जाने बेला श्रीमतीले श्रीमान खोज्दा उनी त्यहाँ भेटिएनन्। श्रीमान् कहाँ छन् भनेर सोध्दा त्यहाँ रहेका अन्य व्यक्तिले उनीअघि नै घर गइसकेको बताएका थिए। तर, यज्ञबहादुर घर पुगेका थिएनन्।
साँझदेखि सम्पर्कविहीन भएका बोहराको खोजतलास गर्ने क्रममा असोज ६ गते दिउँसो करिब ४ बजे तुलीखेत जंगलको भीरमा उनको शव फेला परेको थियो। उनी भीरबाट करिब दुई सय मिटर तल मृत अवस्थामा भेटिएका थिए। पास्नी भएको स्थानदेखि बोहराको घर पुगेर करिब दुई सय मिटर पश्चिमतर्फको भीरमुनि उनको शव फेला परेको थियो।
प्रहरीले पास्नी भोजमा उनीसँगै मदिरा सेवन गरेका आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। भोजका क्रममा विवाद भएपछि यज्ञबहादुरको कुटपिटबाट मृत्यु भएको र घटनामा संलग्नहरूलाई पक्राउ पर्ने डरले घटना लुकाउन उनको शव भीरमा लगेर फालिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
प्रहरीका अनुसार यज्ञबहादुरले श्रीमतीलाई कुटपिट गर्ने गरेको विषयमा नाताले नाति पर्ने मानबहादुर बोहरालाई सम्झाउन खोज्दा दुई जनाबीच विवाद भएको थियो। विवादपछि मानबहादुरले यज्ञबहादुरको कञ्चट, गुप्ताङ्गलगायत संवेदनशील अंगमा प्रहार गरी कुटपिट गरेका थिए।
कुटपिटपछि यज्ञबहादुर अचेत भएर भुइँमा ढलेका थिए। सोही रात उनको मृत्यु भएपछि भीरबाट लडेर मृत्यु भएको देखाउन शवलाई लगेर भीरमा फालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका केही व्यक्तिले कुटपिटकै क्रममा घटनास्थलमा बोहराको मृत्यु भएको र घटना लुकाउन शव भीरमा फालेको प्रहरीसमक्ष बयान दिएका छन्।
यद्यपि, बोहराको शव भीरमा फाल्न कति जना संलग्न थिए भन्ने विषय भने अझै यकिन हुन सकेको छैन।
पास्नीमा मदिरा सेवन गर्ने क्रममा यज्ञबहादुर र मानबहादुरबीच विवाद भएको थियो। विवाद कुटपिटमा परिणत हुँदा यज्ञबहादुर भुइँमा ढलेर अचेत भएका थिए।
यज्ञबहादुर अचेत अवस्थामा भुइँमा ढलेको देखिने एक भिडियोसमेत सार्वजनिक भएको थियो। भिडियोमा उनी अचेत अवस्थामा भुइँमा ढलेको देखिन्छ।
भिडियोमा एक व्यक्तिले ‘तपाईंले यसो गरेको गलत हो’ भनेको सुनिन्छ। अर्को व्यक्तिले ‘मरे पनि म जाने हुँ जेल’ भनेको सुनिन्छ भने अर्कोतर्फबाट ‘छोडिदेऊ’ र ‘तपाईं तमाशा हेर्ने ?’ भन्ने आवाजसमेत सुनिन्छ।
तर, भिडियोमा आवाज सुनिए पनि बोल्ने व्यक्तिहरू कोही पनि देखिएका छैनन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।