भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन अर्थात् अटो रिक्साको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ।
महिन्द्रा लास्ट माइल मोबिलिटीको एक व्यस्त कारखानामा कामदार र रोबोटले ब्याट्री जडान गर्ने, सवारी साधनका धातुका संरचनामा बाहिरी प्यानल जोड्ने र पाङ्ग्रा जडान गर्ने काम गरिरहेका छन्। भारतका व्यस्त सडकमा चल्ने अटो रिक्साको बढ्दो माग पूरा गर्न कम्पनीले उत्पादन विस्तार गरिरहेको छ।
गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए। सोही अवधिमा बिक्री भएका कारमध्ये करिब ८ दशमलव ५ प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनमध्ये ११ दशमलव ६ प्रतिशत मात्र विद्युतीय थिए। यसले विद्युतीय तीनपाङ्ग्रे सवारी साधनको सबैभन्दा ठूलो बजारका रूपमा भारतको स्थान पुष्टि गरेको छ।

महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको विद्युतीय सवारी साधनको बजार विस्तार छ गुणाले बढेको छ। सरकारी अनुदान, सवारी साधनको गुणस्तरमा सुधार र सञ्चालन खर्चमा आएको कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग थप तीव्र भएको मिश्रले बताएका छन्।
एक दशकअघि नयाँ दिल्लीका सडकमा ई–रिक्सा देखिन थालेका थिए। त्यतिबेला प्रायः पुराना साइकल रिक्सामा चिनियाँ ब्याट्री जडान गरी स्थानीय कार्यशालामा तयार पारिन्थ्यो। अहिले भने महिन्द्रालगायत ठूला कम्पनीको प्रवेशसँगै यो क्षेत्र व्यवस्थित उद्योगका रूपमा विस्तार भएको छ।
भारतका उत्तरी सहरहरूमा रेलवे स्टेसन र व्यस्त बजारबाहिर विद्युतीय अटो रिक्सा सामान्य दृश्य बन्न थालेका छन्। यसले परम्परागत इन्धनबाट चल्ने अटो रिक्साको प्रयोग र त्यसबाट निस्कने आवाजलाई क्रमशः विस्थापित गर्दै लगेको छ।
इन्धन खर्चमा बचत
महिन्द्रा आगामी नोभेम्बर १७ मा मुम्बईमा बेलायतका राजकुमार विलियमबाट प्रदान गरिने अर्थसट पुरस्कारका लागि छनोट भएका १५ अन्तिम प्रतिस्पर्धीमध्ये एक हो। तर धेरै चालकका लागि विद्युतीय सवारीप्रतिको आकर्षण वातावरणीय लाभभन्दा सञ्चालन खर्चमा हुने बचत हो।
हैदराबादका ३१ वर्षीय चालक अफरोज आलमले यसै वर्ष पेट्रोलबाट चल्ने अटो छाडेर विद्युतीय सवारी अपनाएका छन्। उनका अनुसार ब्याट्री चार्ज गर्न लाग्ने खर्च कम भएकाले दैनिक सयौँ रुपैयाँ बचत भइरहेको छ। यसबाट विद्युतीय सवारी किन्न लिएको ऋण तिर्न पनि सहज भएको छ।
भारतीय थिङ्क ट्याङ्क सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारी साधनको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीय सवारीको तुलनामा दोब्बरभन्दा बढी छ।
विश्लेषकहरूका अनुसार ब्याट्रीको मूल्य घट्नु र इन्धनको मूल्य बढ्नु विद्युतीय सवारीको प्रयोग विस्तार हुनुका प्रमुख कारण हुन्। भारतले अधिकांश तेल र प्राकृतिक ग्यास आयात गर्ने भएकाले विद्युतीय सवारीको विस्तारले आयातित इन्धनमाथिको निर्भरता घटाउनसमेत सहयोग पुग्न सक्छ।
यद्यपि, चार्जिङ पूर्वाधार र पार्किङको अभावले यसको विस्तारमा चुनौती थपेको छ। मुम्बईमा पार्किङको सीमितताका कारण विद्युतीय सवारी चार्ज गर्न कठिनाइ हुने मिश्रले बताएका छन्।
त्यस्तै, विद्युतीय मोटर निर्माणमा प्रयोग हुने दुर्लभ खनिजका चुम्बकको आपूर्तिमा चीनले लगाएको प्रतिबन्धले भारतीय उत्पादकलाई असर पारेको थियो। भारतले ब्याट्री सेललगायतका सामग्रीको स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको छ। तर यी सामग्रीको ठूलो हिस्सा अझै चीन र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ।
विश्लेषकहरूका अनुसार अब विद्युतीय ट्याक्सी र व्यावसायिक सवारी साधनको विस्तारले पनि यस क्षेत्रमा नयाँ सम्भावना खोल्न सक्छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।