काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनबाट भएका भनिएका गतिविधि संविधान र पार्टीको आदर्शविपरीत रहेको निष्कर्ष निकालेको छ। पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद र प्रेस स्वतन्त्रतामा सम्झौता नगर्ने जनाउँदै दोषीको पहिचान गरी कारबाही गर्न माग गरेको हो।
त्यस्तै, बैठकले न्यायालयभित्र देखिएका विचलन र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसद्बाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। रास्वपाले यस्ता घटनाले न्यायालयको निष्पक्षता र गरिमामा प्रश्न उठाएको भन्दै शुद्धीकरणको आवश्यकतामा जोड दिएको छ।

मधेस प्रदेशमा पार्टी संगठन सुदृढ बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको संगठन अडिट प्रतिवेदन, २०८३ अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ। प्रतिवेदनका सिफारिस आवश्यकताका आधारमा कार्यान्वयन गरिने पार्टीले जनाएको छ।
यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल कात्तिकको अन्तिम साता चीन भ्रमणमा जाने भएको छ। भ्रमणको उद्देश्य दुई पक्षीय राजनीतिक संवाद र सम्बन्ध सुदृढ गर्नु रहेको रास्वपाले उल्लेख गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।