युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको छ।
तालिम आगामी कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म सहभागी हुन सक्नेछन्।
तालिममा च्याटजीपीटी, क्लडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ। साथै, तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत समेटिनेछ।

तालिमले युवाहरूलाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको छ। अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्याससमेत हो। यस कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइ आगामी दिनमा ठूलो सङ्ख्यामा युवाहरूलाई लक्षित गरी सञ्चालन गरिने अनलाइन तथा अन्य सीपमूलक तालिमहरूको पहुँच विस्तार र प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
‘एआई सम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुनु हुँदैन। प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिमहरू सञ्चालन गरी देशभरका ठूलो सङ्ख्यामा युवाहरूलाई एआई प्रविधिमा दक्ष र सक्षम बनाउने हाम्रो लक्ष्य छ,’ युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको भनाइ छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदकहरूलाई कुन सत्रमा सहभागी गराइने भन्ने जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।