पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन्।
एसियाली विकास बैंकको वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। यसमध्ये काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड निर्माणको ठेक्का इभ्रास्कन कालिका जेभीले पाएको छ।
निर्माणका क्रममा यातायात व्यवस्थापनमा ध्यान नदिँदा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोका कारण दुर्घटनाको जोखिम बढेको तथा यात्रु र स्थानीयवासीले सास्ती भोग्नुपरेको गुनासो बढेको छ।

झापा क्षेत्र नं २ की सांसद एवं प्रतिनिधिसभाकी निवर्तमान उपसभामुख इन्दिरा रानामगरले आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी र ट्राफिक प्रहरीसँग छलफल गरी निर्माण कार्यलाई यात्रुमैत्री बनाउन आग्रह गरेकी छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, एसियाली राजमार्ग आयोजनाका इन्जिनियर आश्रय महत र निर्माण व्यवसायीको प्राविधिक टोलीसँगको छलफलमा उहाँले निर्माणको प्रगति, ट्राफिक व्यवस्थापन र यात्रुले भोगिरहेका समस्या समाधानबारे चासो राखेका थिए।
छलफलमा आयोजना प्रतिनिधिले हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी चार महिनाभित्र ७० प्रतिशत पुर्याई चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सांसद रानामगरले जानकारी दिइन्।
उनले निर्माणलाई तीव्रता दिनुका साथै सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरेकी छन्। धुलो तथा प्रदूषण नियन्त्रण र चाडपर्वका बेला वैकल्पिक मार्गको नियमित मर्मतसम्भार गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको उनले बताइन्।
यसैबीच, उज्यालो नेपाल पार्टीले निर्माणमा भएको ढिलासुस्ती र अव्यवस्थाविरुद्ध दबाबमूलक अभियान थालेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले सडकमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण यातायात व्यवसायी, यात्रु तथा बजार क्षेत्रका बासिन्दा प्रभावित भएको बताए।
पार्टीले सरकारी निकायमा जनगुनासो पुर्याउनुका साथै काँकडभिट्टामा साङ्केतिक विरोध कार्यक्रम गरेको उनले जानकारी दिए। निर्माणमा ढिलासुस्ती अन्त्य गर्न, सुरक्षित यात्रालाई प्राथमिकता दिन र ठेक्का सम्झौताका यात्रुहितसम्बन्धी सर्त पालना गर्न पार्टीले माग गरेको छ।
ठेक्का सम्झौताअनुसार एसियाली राजमार्गको स्तरोन्नति विसं २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। विसं २०८० माघ १९ गते सुरु भएको आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानी रहेको छ। रासस



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।