युक्रेनकी टेनिस स्टार एलिना स्भितोलिना अब यो वर्षलाई यहीँ टुङ्गाउन चाहन्छिन्। एलिनाको देश युक्रेन युद्धको चपेटामा छ, तर उनले विश्वस्तरको टेनिस खेलिरहिन्।
पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्। जीवनमा अनेक उतारचढावका बाबजुद उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिन्। सात वर्षपछि सिजनको अन्तिम प्रतियोगिता डब्लुटिए फाइनल्समा उनी पुनरागमन गर्न सफल भइन्।
तर, आइतबार राती भएको उपाधि भिडन्तमा उनी रुसकी युवा खेलाडी मिरा आन्द्रीवासँग ७-५, ६-३ को सेटमा पराजित भइन्। खेलपछि एलिनाले रुसी खेलाडीसँग हात मिलाइनन्। संयुक्त तस्बिर खिचाउन पनि उनले अस्वीकार गरिन्। रुसले आफ्नो देशमाथि आक्रमण गरेपछि उनले रुस र बेलारुसका खेलाडीसँग खेल सकिएपछि हात नमिलाउने निर्णय गर्दै आएकी छन्।

‘प्रतियोगिता सकिएकोमा खुसी छु। अब आराम गर्ने, आफूलाई पुन: ताजा बनाउने र छोरीसँग समय बिताउने अवसर पाएकी छु। केही समयदेखि मैले छोरीलाई भेट्न पाएकी थिइनँ। अब हामीसँग सबै कुरा व्यवस्थित गर्ने पर्याप्त समय हुनेछ,’ उनले भनिन्। एलिनाले विश्व वरीयतामा छैटौं स्थानमा रहँदै वर्षको अन्त्य गरेकी छन्। पूर्वी युरोपेली खेलाडीको वर्चस्व रहेको शीर्ष १० मा उनकै देशकी मार्ता कोस्त्युक पनि दशौं स्थानमा छिन्। ‘लयमा रहँदा निकै खुसी छु। गर्भावस्थापछि पुनरागमन गर्न सफल भएँ। यसले विश्वभरका महिला तथा खेलाडीलाई पनि यो सम्भव छ भन्ने विश्वास दिलाउन सके राम्रो हुनेछ,’ उनले भनिन्।
इलिना र पूर्वशीर्ष १० खेलाडी गाएल मोन्फिसले पाँच वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गत अक्टोबरमा गरेका थिए। उनीहरूकी छोरी स्काई त्यही महिना चार वर्षकी भएकी थिइन्। सेप्टेम्बरमा सम्पन्न युएस ओपनको मिक्स डबल्समा दुवै सेमिफाइनलसम्म पुगे। त्यसको एक महिनापछि उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गर्दा धेरै आश्चर्यमा परे। सम्बन्ध विच्छेदपछि उत्पन्न उतारचढाव र सामाजिक सञ्जालमा भएको आलोचनाका बाबजुद उनी इन्डियन वेल्समा हुने डब्लुटिए फाइनल्स खेल्ने आफ्नो निर्णयबाट पछि हटिनन्। आठ खेलाडी सहभागी हुने प्रतियोगितामा स्थान बनाउन उनले अक्टोबरको मध्यतिर एसियाली प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।
एलिनाले यसअघि सन् २०१८ मा डब्लुटिए फाइनल्सको उपाधि जितेकी थिइन्। २०१९ मा भने उनी उपविजेतामा खुम्चिन्। ‘मेरो दिमागमा धेरै कुराहरू थिए। सबै परिस्थितिको बोझ बोकेर खेल्नु निकै कठिन थियो,’ उनले भनिन्। पूर्वदम्पती अहिले पनि छोरीको अभिभावकत्वका विषयमा नजिक छन्। डब्लुटिए फाइनल्सका क्रममा पनि उनले मोन्फिससँग पटकपटक कुराकानी गरेकी थिइन्। ‘उनले मलाई सिजनको अन्त्य बलियो प्रदर्शनका साथ गर्नुपर्छ भनेका थिए। मैले आफूलाई जसरी सम्हालें र यति धेरै चुनौतीका बाबजुद पनि फाइनल्ससम्म पुग्न सफल भएँ, त्यसमा मलाई सबैभन्दा बढी गर्व छ,’ उनले भनिन्।
आगामी साता उनी युक्रेन फर्कने तयारीमा छिन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब पाँच वर्ष पुग्न लागेको छ। ‘म सधैं आफ्नो सेनाको समर्थनमा उभिएकी छु। सैनिकहरूलाई मेरो साथ छ। उनीहरूले पनि मेरा खेल हेरेर मलाई समर्थन गर्छन्। मेरा धेरै साथीहरू देशको रक्षाका लागि सेवामा छन्,’ उनले भनिन्। डब्लुटिए फाइनल्सका क्रममा युक्रेनको झण्डा बोकेर उपस्थित समर्थकहरूले दिएको साथले आफू भावुक बनेको पनि उनले बताइन्। ‘युक्रेनका जनतालाई थोरै भए पनि खुसी दिँदा निकै खुसी छु। युक्रेनमा खेलकुदले मानिसहरूलाई एउटै लक्ष्य अर्थात् जितका लागि एकजुट बनाउने काम गर्छ,’ उनले भनिन्। इन्डियन वेल्समा आठ दिनसम्म चलेको प्रतियोगिताका क्रममा एलिनाले स्थानीय एक विद्यालयकी विद्यार्थीलाई पनि भेटिन्।
उनीसँग टेनिस अभ्यास गरिन्। ती विद्यार्थी युक्रेनमा युद्धका कारण शरणार्थी बनेर अमेरिका पुगेकी थिइन्। ‘उनको पीडा जान्न उत्सुक थिएँ। आफ्नो देश छाड्नुपरे पनि उनले टेनिस खेल्न छाडिनन् र आफ्नो करियर अघि बढाउन सक्ने ठाउँ भेट्टाइन्। यो निकै प्रेरणादायी कुरा हो। देश छाड्न बाध्य भएका युवा खेलाडीका लागि पनि यो राम्रो उदाहरण हो। उनीहरूले नयाँ ठाउँमा आफ्नो उद्देश्य पहिल्याउन सक्छन्, खेललाई निरन्तरता दिन सक्छन् र फरक परिस्थितिमा रहेर पनि युक्रेनको प्रतिनिधित्व गर्न सक्छन्,’ उनले भनिन्। सन् २०१९ देखि सञ्चालनमा रहेको स्वितोलिना फाउन्डेसनले युक्रेनका युवा खेल प्रतिभालाई सहयोग गर्दै आएको छ।
फाउन्डेसनले टेनिस क्याम्प, अनुदान, मानसिक स्वास्थ्य तथा खेलकुद कूटनीतिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म तीन हजारभन्दा बढी बालबालिका यसका विभिन्न कार्यक्रममा सहभागी भइसकेको फाउन्डेसनको दाबी छ। ‘टेनिस खेलिन वा छोरीसँग गुणस्तरीय समय बिताइरहेकी छैन भने फाउन्डेसनमार्फत काम गरिरहेकी हुन्छु। मसँग गर्नुपर्ने कामको कमी छैन,’ उनले भनिन्। एपी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।