खेलकुद

पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पाँचौं पटक प्रतिस्पर्धा हुँदैछ।

अघिल्ला चार भेटमा समान दुई-दुई जितसहित बराबरीमा रहेका यी दुई टोलीबीचको आजको विजेताले हेड-टु-हेडमा अग्रता बनाउनुका साथै सोझै फाइनलको टिकटसमेत पक्का गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ। लुम्बिनीले टिममा कुनै परिवर्तन गरेको छैन भने सुदूरपश्चिमले ३ खेलाडी फेरेको छ।

विज्ञापन

सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्दा अभिनाश बोहोरा पनि टिममा फर्किएका छन्।

यी दुई टोलीबीचको हेड-टु-हेड इतिहास रोचक छ। सुरुवाती दुई भेटमा सुदूरपश्चिम हाबी भएको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो भने दोस्रो संस्करणको लिग चरणमा ७ विकेटको जित निकालेको थियो।

तर, पछिल्ला दुई भेटमा साविक विजेता लुम्बिनीले लगातार जित निकाल्दै हेड-टु-हेड २-२ को बराबरीमा ल्याएको छ। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनीले ६ विकेटको जित दर्ता गरेको थियो।

जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै लुम्बिनीले ७ विकेटको जित हात पारेको थियो।

पछिल्ला दुई खेलमा लगातार ठूलो अन्तरको हार बेहोरेको सुदूरपश्चिम आज अघिल्ला हारको बदला लिने अवसरमा छ। यता, लुम्बिनी भने सुदूरपश्चिममाथि लगातार तेस्रो जितसहित फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रँदैछ।

यस खेलमा पराजित हुने टोलीले पनि फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पराजित टोलीले काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

सिजन ३ को लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। दुवै टोलीले लिग चरणमा समान ५ जित दर्ता गरेका थिए।

लुम्बिनी काठमाडौंसँग पराजित भएको थियो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो। अघिल्ला दुवै संस्करणको फाइनल खेलेको सुदूरपश्चिम भने लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि अङ्कतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।