नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने यस खेलको विजेता सोझै फाइनल पुग्नेछ।
निर्णायक भिडन्तका लागि लुम्बिनीले अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन। यता, सुदूरपश्चिमले भने ३ खेलाडी परिवर्तन गरेको छ।

सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्दा अभिनाश बोहोरा पनि टिममा फर्किएका छन्।
यस खेलमा पराजित हुने टोलीले समेत फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पराजित टोलीले काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
लिग चरणमा लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्। लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम अघिल्ला दुवै संस्करणको फाइनलमा पुगेको टोली हो।
यी दुई टोलीबीच आज पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका चार भेटमा दुवै टोलीले समान दुई-दुई खेल जितेका छन्। पहिलो संस्करणमा सुदूरपश्चिम ४५ रनले र दोस्रो संस्करणको लिग चरणमा ७ विकेटले विजयी भएको थियो।
तर, लुम्बिनीसँगका पछिल्ला दुई भेट सुदूरपश्चिमका लागि बिर्सनलायक छन्। दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनीले ६ विकेटको जित निकालेको थियो।
जारी सिजनको उद्घाटन खेलमा पनि सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै लुम्बिनीले ७ विकेटको जित दर्ता गरेको थियो।
पछिल्ला दुई भेटमा लगातार ठूलो अन्तरको हार बेहोरेको सुदूरपश्चिम आज अघिल्ला हारको बदला लिने अवसरमा छ। यता, लुम्बिनी भने लगातार तेस्रो जितसहित फाइनल यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रँदैछ।
सिजन ३ को लिग चरणमा दुवै टोलीले समान ५ जित दर्ता गरेका थिए। लुम्बिनी काठमाडौंसँग पराजित भएको थियो भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो।
सुदूरपश्चिम भने लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि अङ्कतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।