भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँच मिनेटमै ‘राष्ट्रविरोधी’ प्रमाणित गर्न सक्ने दाबी गर्दै उनीसँग खुला बहस गर्न चुनौती दिएका छन्।
बुधबार पञ्जाबको संगरुरमा आयोजित कांग्रेसको ‘इन्साफ र्याली’लाई सम्बोधन गर्दै गान्धीले मोदी आफूले चाहेको कुनै पनि ठाउँमा आएर आमनेसामने बहस गर्न सक्ने बताएका हुन्।
मोदीले कांग्रेसलाई राष्ट्रविरोधी भन्दै आएको प्रसंग उठाउँदै उनले बहसका लागि प्रधानमन्त्रीले नै निर्णायक छान्न सक्ने बताए। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवत वा उद्योगपति गौतम अडानीलाई निर्णायक राखे पनि आफूलाई आपत्ति नहुने उनको भनाइ थियो। बहस एनडीटीभीको स्टुडियोमा गर्न चाहे पनि आफू तयार रहेको उनले बताए।

‘मोदी जहाँ आएर मसँग बस्न र बहस गर्न सक्छन्। पाँच मिनेटभित्रै म उनलाई राष्ट्रविरोधी प्रमाणित गरिदिन्छु। डोनाल्ड ट्रम्पले मोदीलाई नियन्त्रण गरिरहेका छन् भन्ने पनि प्रमाणित गर्छु,’ राहुलले भने।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मोदीले भारत-अमेरिका व्यापार सम्झौता गरेको आरोप लगाए। सम्झौतामा हस्ताक्षर गर्नुअघि मन्त्रिपरिषद् र सरकारी अधिकारीसँग पर्याप्त परामर्श नगरेको उनको दाबी थियो। उक्त सम्झौताले भारतीय किसान, साना तथा मझौला उद्योग र देशको तथ्यांकको हितमा असर पार्न सक्ने उनले बताए।
राहुलले मोदी अर्बपतिहरूको हितमा काम गरिरहेको आरोपसमेत लगाए। विशेषगरी उद्योगपति गौतम अडानीलाई देशको जमिन, पूर्वाधार र विमानस्थलजस्ता महत्त्वपूर्ण सम्पत्ति सुम्पिएको उनको आरोप थियो। किसान तथा साना र मझौला व्यवसायीको हितमा सरकारले काम नगरेको पनि उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तानबिचको द्वन्द्व आफूले रोकेको दाबी गरिरहँदा प्रधानमन्त्री मोदीले त्यसको खण्डन गर्न नसकेको भन्दै राहुलले प्रश्न उठाए। अमेरिकामा अडानीविरुद्ध चलिरहेको मुद्दा र भारत-अमेरिका व्यापार सम्झौताबिच सम्बन्ध रहेको दाबी गर्दै उनले मोदीमाथि विदेशी दबाब रहेको आरोप लगाए।
संसदमा छलफल गर्नुपर्ने सत्तापक्षको भनाइप्रति पनि राहुलले आपत्ति जनाए। संसदमा आफूले बोल्न खोज्दा माइक बन्द गरिने र आफ्ना कुरा राख्न नदिइने गरेको उनको आरोप थियो। त्यसैले संसदभन्दा बाहिर प्रधानमन्त्रीसँग आमनेसामने बहस गर्न चुनौती दिएको उनले बताए।
राहुलको चुनौतीपछि भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहले जवाफ दिएका छन्।
बिहीबार हरियाणाको करनालमा आयोजित ‘लोकतन्त्र बचाओ, अराजकता हटाओ’ र्यालीलाई सम्बोधन गर्दै शाहले राहुललाई सार्वजनिक सभामा आरोप लगाउनुभन्दा संसदमा आएर बहस गर्न चुनौती दिए।
राहुलले प्रधानमन्त्री मोदीसँग बहस गर्न चाहेको हो भने औपचारिक रूपमा प्रधानमन्त्रीलाई पत्र लेख्नुपर्ने शाहको भनाइ थियो। कांग्रेसले माग गरे सरकार विशेष संसद् अधिवेशन बोलाउन तयार रहेको उनले बताए। विशेषगरी मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियाबारे संसदमा छलफल गर्न सरकार तयार रहेको उनको दाबी थियो।
‘तपाईं मोदीजीसँग बहस गर्न चुनौती दिनुहुन्छ। छलफल गर्न चाहनुहुन्छ भने प्रधानमन्त्रीलाई पत्र लेख्नुहोस्। एसआईआरबारे छलफल गर्न हामी विशेष संसद् अधिवेशन बोलाउन तयार छौँ,’ शाहले भने।
उनले संसद् लोकतन्त्रमा बहस गर्ने उपयुक्त थलो भएको उल्लेख गर्दै राहुलमाथि संसद्को कामकारबाही अवरुद्ध गर्ने र छलफलबाट भाग्ने गरेको आरोप लगाए। कांग्रेसले संसदमा हंगामा गर्ने र बैठक बहिष्कार गर्ने गरेको उनको दाबी थियो।
सोही कार्यक्रममा शाहले राहुलको हालैको भियतनाम भ्रमणबारे पनि प्रश्न उठाए। विपक्षी दलको नेताका रूपमा उनले विदेश भ्रमणको उद्देश्य, भ्रमणको अवधि र त्यहाँ भेटेका व्यक्तिबारे जनतालाई जानकारी दिनुपर्ने शाहको भनाइ थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।