जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत अन्सारीले कार्कीलाई आईजीपीबाट हटाउनुको कारण स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। उनले कार्कीले गल्ती गरेका कारण पदबाट हटाइएको हो भने पुनः प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्नुको औचित्य के हो भन्दै प्रश्न गरेका छन्। यदि उनी इमानदार र योग्य थिए भने आईजीपीबाट हटाउनुको कारण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
‘यदि दानबहादुर कार्कीले कुनै गल्ती गर्नुभएको होइन र उहाँ इमानदार नै हुनुहुन्छ भने हटाइयो किन ? अनि गल्ती गर्नुभएको हो वा इमानदार हुनुहुन्न भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा किन नियुक्त गरियो ?’ अन्सारीले प्रश्न गरेका छन्।

उनले कुनै अनुसन्धान, छानबिन, प्रतिवेदन वा सिफारिसबिना मन्त्रिपरिषद्को निर्णयका आधारमा आईजीपीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिलाई हटाउनु विधिसम्मत नभएको टिप्पणी गरेका छन्।
‘प्रधानमन्त्रीज्यू, तपाईंलाई आफ्नो मुड स्विङको फ्रस्ट्रेसन देखाउनका लागि जनताले सत्तामा पुर्याएका होइनन्। तपाईंको मुड स्विङअनुसार देश चल्दैन। देश विधि, कानुन, प्रक्रिया र तर्कका आधारमा चल्छ,’ उनले भनेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।