विज्ञापन
खेलकुद

माओलाई ‘तानाशाह’ भनेका एमबाप्पेको पक्षमा उभिए एफएफएफ प्रमुख

चीनका पूर्वनेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेपछि विवादमा परेका फुटबल स्टार केलियन एमबाप्पेको पक्षमा फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) का प्रमुख फिलिप डायलोले बोलेका छन्।

उनले एमबाप्पेले माफी मागिसकेकाले अब विवादलाई यहीँ टुंग्याएर आफ्नो खेलमा ध्यान दिन दिनुपर्ने बताएका छन्।

डायलोले यो विवाद छिट्टै समाधान हुने आशा व्यक्त गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यम ओएस्ट फ्रान्ससँग कुरा गर्दै उनले भने, ‘यो विवाद लामो समयसम्म रहनु हुँदैन। केलियनले आफ्नो टिप्पणी कुन सन्दर्भमा गरेका थिए भन्ने स्पष्ट पारिसकेका छन्। उनले माफी पनि मागेका छन्। अब यो विषयलाई यहीँ टुंग्याएर उनलाई आफ्नो सिजन राम्रोसँग अघि बढाउन दिनुपर्छ।’

विज्ञापन

फ्रान्सेली टोलीको कप्तान समेत रहेका एमबाप्पेको क्लब रियल म्याड्रिड र स्पेनको फुटबल लिग ला लिगाले पनि उनको टिप्पणीप्रति माफी मागेका छन्। विवाद बढेपछि ला लिगाका अध्यक्ष जेभियर टेबासले बुधबार छुट्टै टोली गठन गरेका थिए। उनले स्पेनका लागि चिनियाँ राजदूत याओ जिङसँग पनि भेट गरेका थिए।

यो विवादले चीनजस्तो ठुलो बजारमा खेलाडी र उनीहरूसँग व्यापारिक सम्बन्ध राख्ने कम्पनीलाई कस्तो असर पर्न सक्छ भन्ने देखाएको छ। सन् १९४९ देखि सन् १९७६ मा मृत्यु नहुँदासम्म चीनमा शासन गरेका माओत्सेतुङबारे नकारात्मक टिप्पणी गर्नु त्यहाँ संवेदनशील विषय मानिन्छ।

चीनको सरकारी सञ्चारमाध्यम चाइना डेलीले एमबाप्पेको टिप्पणीले चिनियाँ समर्थकलाई निराश बनाएको र उनको व्यापारिक सम्बन्धमा असर पार्न सक्ने जनाएको छ। त्यस्तै, मिगुले पनि आइतबार रियल म्याड्रिड र रेसिङ सान्टान्डरबिचको खेल प्रसारण गरेन। त्यस्तै, डेरी उत्पादन कम्पनी मेङ्निउ र सांघाई मिल्कग्राउन्ड फुड टेक तथा इस्ट्रोक बेभरेजजस्ता चिनियाँ ब्रान्डले एमबाप्पेसँगको सहकार्य रोकेका छन्।

यो विवाद एमबाप्पेको क्लब फुटबलमा प्रभाव र निर्णय गर्ने शैलीलाई लिएर लामो समयदेखि चल्दै आएको व्यंग्यसँग जोडिएको छ। सामाजिक सञ्जालमा उनलाई आफ्नो टोलीका निर्णयमा अत्यधिक प्रभाव राख्ने खेलाडीका रूपमा देखाउँदै विभिन्न तस्बिर र मीम बनाइने गरेका छन्। युरोपेली सञ्चारमाध्यममा उनलाई व्यंग्य गर्दै ‘तानाशाह’ समेत भन्ने गरिएको छ।

पछि हटाइएको एक फ्रान्सेली पोडकास्टको भिडियोमा एमबाप्पेले आफ्नो अनुहार अर्को व्यक्तिको तस्बिरमा जोडिएको एउटा मीमबारे कुरा गर्दै भनेका थिए, ‘मलाई लाग्छ उनी चिनियाँ तानाशाह हुन्।’ उक्त टिप्पणी माओत्सेतुङलाई लक्षित रहेको भन्दै चीनमा विवाद भएको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने एमबाप्पेले मागेको माफीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।