विज्ञापन
खेलकुद

झरीमा क्रिज जोगाउने प्रविधि छ, तर किन डुब्यो त्रिवि मैदान ?

विश्व क्रिकेटमा वर्षाका बेला पिच र खेल मैदान जोगाउन अत्याधुनिक प्रविधिको प्रयोग सामान्य भइसकेको छ। पिच र रन–अपलाई वाटरप्रुफ कभरले छोप्ने, मैदानमा जमेको पानी विशेष सक्सन मेसिन वा ‘सुपर सपर’बाट हटाउने तथा ठूलो क्षमताको ड्रेनेज प्रणालीमार्फत पानी तत्काल बाहिर पठाउने व्यवस्था गरिन्छ।

तर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भने पिचलाई पालले जोगाउन सकिए पनि मैदान वरिपरिबाट बगेको पानी व्यवस्थापन गर्न नसक्दा खेल नै प्रभावित हुने अवस्था आएको छ।

शुक्रबारदेखि लगातार भइरहेको वर्षाका कारण मैदान र यसको वरपरको क्षेत्र जलमग्न बनेको छ। नयाँ प्यारापिटबाट बगेको पानीसमेत मैदानतर्फ पसेपछि शनिबारका लागि तय भएका नेपाल प्रिमियर लिग (एनपीएल)का खेल प्रभावित हुने भएका हुन्।

विज्ञापन

गत वर्ष प्यारापिट र फ्लडलाइटसहित स्तरोन्नति गरिएको त्रिवि क्रिकेट मैदान अहिले १० हजार दर्शक क्षमताको बनेको छ। तर मैदानको भौतिक संरचना विस्तार हुँदा पानी निकासको प्रणाली भने पुरानै रहनु अहिलेको समस्याको प्रमुख कारण बनेको देखिन्छ।

रंगशाला निर्माणमा संलग्न शहरी विकास विभागका पूर्वसहसचिव चक्रवर्ती कण्ठका अनुसार, रंगशालाको सम्पूर्ण गुरुयोजना कार्यान्वयन नभएसम्म पानी व्यवस्थापनको दीर्घकालीन समाधान कठिन छ।

‘त्यहाँ जम्मा हुने सबै पानी तत्काल बगाउन मैदान वरिपरि ठूलो क्षमताको ड्रेन प्रणाली बनाउनुपर्छ। त्यो गुरुयोजना लागू भएपछि मात्र सम्भव हुन्छ,’ कण्ठले भने।

उनका अनुसार दोस्रो चरणमा प्यारापिटको क्षमता थप १५ हजार दर्शकसम्म विस्तार गर्ने र आधुनिक क्रिकेट रंगशालाका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गर्ने योजना छ। तर अहिले आधा संरचना नयाँ र बाँकी पूर्वाधार पुरानै अवस्थामा रहेकाले वर्षाको पानी व्यवस्थापनमा असन्तुलन देखिएको छ।

विशेषगरी नयाँ प्यारापिटबाट बगेर आउने पानी मैदानतर्फ नै केन्द्रित हुँदा समस्या थपिएको बताइन्छ। त्रिवि परिसरको होचो भूभागमा रंगशाला रहेकाले आसपासका क्षेत्रबाट बगेको पानीसमेत रंगशाला क्षेत्रतर्फ आउने गरेको छ।

हाल प्रयोगमा रहेको ड्रेनेज प्रणाली एनपीएलको पहिलो संस्करणअघि नै तयार भएको थियो। तर पछिल्ला वर्षमा मैदानको स्वरूप, प्यारापिट र दर्शक क्षमता विस्तार भए पनि पानी निकासको संरचना त्यही अनुपातमा स्तरोन्नति हुन सकेन।

२०५६ सालसम्म त्रिविको आन्तरिक खेलकुद मैदानका रूपमा रहेको यो स्थानलाई भारतको जी–स्पोर्ट्ससमेतको सहयोगमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा विकास गर्ने काम सुरु गरिएको थियो। लामो समयसम्म मैदान, पिच र ड्रेसिङ रुमका सीमित संरचनामै क्रिकेट सञ्चालन हुँदै आएको थियो। एनपीएलको पहिलो संस्करणसम्म पनि दर्शकले जमिनमै बसेर खेल हेर्नुपर्ने अवस्था थियो।

नेपालीमा बढ्दो क्रिकेट मोहसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनभित्र प्यारापिट निर्माण गर्ने घोषणा गरेको थियो। त्यसपछि दर्शक क्षमता विस्तार र रातिमा समेत खेल सञ्चालन गर्न सक्ने फ्लडलाइट जडानको काम सम्पन्न भयो।

तर करिब १० अर्ब रुपैयाँको गुरुयोजनाअन्तर्गत आधुनिक क्रिकेट रंगशालाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम अझै बाँकी छ। अहिलेको वर्षाले भने ती अधुरा संरचना र कमजोर पानी निकास प्रणालीको समस्या सतहमा ल्याइदिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहका अनुसार मैदान र बाहिरी क्षेत्रसमेत पानीमा डुबेको छ। पिच र मैदानको संवेदनशील भागलाई कभरले छोपेर जोगाइए पनि वरिपरिबाट आएको पानी मैदानमा जम्मा भएकाले पानी रोकिए पनि शनिबार र आइतबारका खेल सञ्चालन गर्न कठिनाइ हुन सक्ने देखिएको छ।

क्यानले प्रकाशित गरेको तालिकाअनुसार शनिबार अपराह्न १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्स तथा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल तय छ।

क्यानका बोर्ड सदस्य तथा एनपीएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार अपेक्षाभन्दा बढी वर्षा हुँदा मैदान वरिपरिका ड्रेनसमेत भरिएका छन्।

‘पानी रोकियो भने एक घन्टाभित्र खेलका लागि मैदान तयार गर्न सकिन्छ,’ उनले भने। पहिलो खेल सञ्चालन हुन नसके पनि दोस्रो खेल खेलाउन सकिने अपेक्षा क्यानको रहेको उनको भनाइ छ।

क्रिकेट मैदानमा वर्षाको क्षति कम गर्न पिच कभर मात्र पर्याप्त हुँदैन। पिच जोगाउने पाल, मैदान सुकाउने उपकरण र ठूलो क्षमताको वैज्ञानिक ड्रेनेज प्रणाली एकअर्काका पूरक संरचना हुन्। त्रिवि मैदानमा यसपटक पिच जोगिए पनि मैदान जोगाउन नसक्नुले नेपालको सबैभन्दा महत्त्वपूर्ण क्रिकेट रंगशालाको स्तरोन्नति अझै अधुरो रहेको संकेत दिएको छ।

एनपीएलजस्तो ठूलो प्रतियोगिताका बेला वर्षाले खेल रोकिनु स्वाभाविक चुनौती हुन सक्छ। तर वर्षापछि पानीलाई कति छिटो मैदानबाट बाहिर निकाल्न सकिन्छ भन्ने विषय पूर्वाधारको गुणस्तरसँग जोडिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।