विज्ञापन
समाज

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवान आशिषको कुशको श`व बनाएर अन्त्येष्टि

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान आशिष गडरियाको कुशको शव बनाएर परिवारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका बर्गदीघाट पुल नजिकै अन्त्येष्टि गरेका छन्।

महाराजगन्ज नगरपालिका ४ बरईपुरका उनी दुई महिनाभन्दा बढी समय बित्दा पनि अवस्था अज्ञात भएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन्। रसुवाको मैलुङ प्रहरी चौकीमा ड्युटी गरेकै बेला उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। शव फेला पर्ने आश मरेपछि उनका बुवा खेदु गडरियाले कुशको शव बनाएर दागबत्ती दिएर छोराको दाहसंस्कार गरेका हुन्।

दाहसंस्कारको क्रममा सांसद विक्रम सिंह थापा, प्रहरी उपरीक्षक मनोहर भट्ट, प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह, वडाध्यक्ष लगायतले अन्तिम बिदाइ गरेका थिए। सो क्रममा आशिषलाई प्रहरी टोलीले प्रहरीको झण्डा ओढाई सलामीसमेत दिएको थियो। सो क्रममा जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरूले संकलन गरेको २ लाख ७० हजार रकमसमेत परिवारलाई हस्तान्तरण गरिएको थियो।

विज्ञापन

आशिषको परिवारमा ठुलो बज्रपात
भेडा चराएर धेरै कठिनाइको सामना गरी छोरालाई प्रहरी जवान बनाएका कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ४ बरईपुरको गडेरिया परिवारमा ठुलो बज्रपात भएको छ। रसुवाको मैलुङमा ड्युटीमा खटिएका २३ वर्षीय एक्ला छोरा आशिष गडरिया भोटेकोशीमा आएको बाढीले बगाएपछि उनको परिवार बेहालमा छ। बुवा खेदु र आमा निर्मला तथा श्रीमती प्रियंका आशिष बेपत्ता भएयता बेहाल बनेका हुन्।

ड्युटीमै भएका बेला भदौ १० गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका थिए। घटना हुनुभन्दा १७ महिनाअघि प्रहरी जवानमा नाम निकालेर ९ महिना तालिम सकेर त्यहाँ पुगेका थिए। ८ महिना त्यहाँ कार्यरत रहेकै बेला गत वैशाखमा घर आएर विवाह गरेर फर्केका थिए। उनी पहिलो पोस्टिङमै रसुवाको मैलुङ पुगेका थिए। उनको पूरै परिवार तनाव र चिन्ताले सम्हालिन नसक्ने अवस्थामा पुगेको छ। आशिषका ३ दिदीबहिनी छन्। उनीहरूको विवाह भइसकेको छ। परिवारका एक्ला छोरा आशिष हुन्।

‘छोरालाई बडो कष्ट गरी भेडा पालेर पढाएको थिएँ,’ बुवा खेदु गडरियाले आँखाभरि आँसु झार्दै भने, ‘छोराले कमाउन थालेपछि अब केही सहज हुन्छ भन्ने लागेको थियो, तर परिवारमा बज्रपात भयो।’ छोरा सकुशल फर्कियोस् भन्दै भगवान्सँग प्रार्थना गर्दै बसे पनि दुई महिना बित्दा पनि नफर्केपछि छोराको कुश बनाएर अन्त्येष्टि गरेको उनले बताए। आमा निर्मला र श्रीमती प्रियंकाको अझै आँसु थामिएको छैन।

श्रीमान्को विलाप गर्दै प्रियंकाले एक पटक आत्महत्याको प्रयाससमेत गरेकी थिइन्। विवाह भएको पाँच महिना नपुग्दै परेको यस्तो बज्रपातबाट कसरी उम्कने भन्ने तनाव र चिन्ताले शरीर नै हाडछाला हुन थालेको छ। भोटेकोशीमा बाढीले बगाएर आशिषसहित ६ जना सम्पर्कविहीन भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।