दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झासहित संस्थानका विभिन्न चिस्यान केन्द्र तथा कारखानामा कार्यरत तत्कालीन प्रमुख र कर्मचारी छन्। उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा संगठित सञ्जाल बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।
उनीहरूलाई आपराधिक विश्वासघात तथा संगठित अपराधको आरोपमा जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

झा यसअघि २०८० सालमा पनि डीडीसीको दूध बिक्रीबाट प्राप्त करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपमा पक्राउ परेका थिए। उनी २०७८ चैत १४ गते संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।