मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहरामाथि कार्यालय सञ्चालन र रकम निकासालगायतका विषयमा मनोमानी गरेको आरोप लागेको छ। उनको कार्यशैलीबाट जनप्रतिनिधि, कर्मचारी, ठेकेदार, आपूर्तिकर्ता र उपभोक्ता समिति आजित बनेका छन्।
लामो समयदेखि भुक्तानी रोकिँदा महानगरपालिकाभित्र सञ्चालित विभिन्न आयोजनाहरू प्रभावित भएका छन्। समयमै रकम भुक्तानी नहुँदा विभिन्न ठेक्काअन्तर्गत काम गर्ने मजदुरले समेत तिहार र छठका बेला पारिश्रमिक पाउन सकेका छैनन्।
कार्यवाहक प्रमुखको हैसियतमा उपप्रमुख इम्तियाज आलमले पारित गरेको बजेटलाई महानगर प्रमुख राजेशमान सिंहले विशेष नगरसभाबाट संशोधनसहित पारित गराएका थिए। तर, प्रमुख प्रशासकीय अधिकृत बोहरा कार्यालयभन्दा बाहिरै बस्ने गरेको र आवश्यक निर्णय नगरेको आरोपका कारण भुक्तानीलगायतका काम प्रभावित भएको जनप्रतिनिधि तथा सेवाग्राहीको गुनासो छ।

वीरगञ्ज महानगरपालिका–२८ बगहीमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको भुक्तानी रोकिएपछि बोहराको कार्यशैलीबारे थप प्रश्न उठेको हो। वीरगञ्ज महानगरपालिकाको लेखा शाखाका अनुसार उक्त स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का एक करोड छ लाख रुपैयाँमा स्क्वायर मिटर प्रालिले लिएको छ।
निर्माण कम्पनी स्क्वायर मिटर प्रालिका सञ्चालक निराजन अधिकारीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको दोस्रो किस्ता भुक्तानीका लागि महानगरपालिकामा निवेदन दिएका थिए। उनको निवेदनका आधारमा महानगरपालिकाका प्राविधिकले मूल्याङ्कन गरी २० लाख रुपैयाँ भुक्तानी दिन लेखा शाखामा बिल पेस गरेका थिए।
बिल पेस भएपछि भुक्तानीको अवस्था बुझ्न दिनहुँ लेखा शाखा धाउँदा त्यहाँका कर्मचारीले लेखा शाखाबाट गर्नुपर्ने सबै काम पूरा भइसकेको र प्रमुख प्रशासकीय अधिकृतबाट हुनुपर्ने काम मात्र बाँकी रहेको बताउने गरेको अधिकारीको भनाइ छ।
लेखा शाखाबाट भुक्तानीका लागि प्रक्रिया अघि बढिसकेको स्वास्थ्य चौकी भवन निर्माणको बिल किन रोकिएको हो भन्नेबारे प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्न खोज्दा कात्तिक १७ गतेदेखि उनी कार्यालयमा नभेटिएको अधिकारीले बताए। भवन निर्माणमा खटिएका मजदुरले दीपावली र छठका बेला ज्याला मागेर हैरान पारेको तथा महानगरपालिका पुग्दा प्रमुख प्रशासकीय अधिकृत नभेटिँदा आफू थप तनावमा परेको उनले सुनाए।
भुक्तानीबारे लेखा शाखामा बुझ्दा लेखा अधिकृत रामकुमार कुशवाहा र रूपनारायण राउत कुर्मीले कात्तिक २० गतेसम्म बिलको रकम भुक्तानी हुने आश्वासन दिएको अधिकारीले बताए। दीपावली बिदा हुने दिन कात्तिक २० गते शुक्रबार भुक्तानी आउने आश्वासन पाएपछि दिनभर बैंकमा कुरेर बसे पनि रकम नआएको उनको भनाइ छ।
भुक्तानी रोकिएको विषयमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत बोहरा र लेखा अधिकृतहरूलाई भेट्न खोज्दा उनीहरू राति भेटिएको अधिकारीले बताए। शुक्रबार राति वीरगञ्जको आदर्शनगरमा रहेको लक्ष्मी बैंक भएको भवनमा प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रक्सी पार्टी भइरहेको जानकारी पाएपछि आफूहरू त्यहाँ पुगेको उनले बताए।
क्वार्टरको गेटमा रहेका सुरक्षागार्डलाई ढोका खोल्न लगाएर भित्र प्रवेश गर्दा पार्टी चलिरहेको र लेखा अधिकृत रामकुमार कुशवाहा, रूपनारायण राउत कुर्मीलगायतका कर्मचारी भुक्तानीसम्बन्धी काम गरिरहेको अवस्थामा भेटिएको अधिकारीको दाबी छ।
आफूहरू पुगेको थाहा पाउनेबित्तिकै प्रमुख प्रशासकीय अधिकृत बोहराले ‘मेरो निवासमा किन आएको’ भन्दै अपशब्द प्रयोग गर्न थालेको अधिकारीले बताए। अपशब्द बोल्न थालेपछि लेखा अधिकृत रामकुमार कुशवाहाले बोहरालाई समातेर अर्को कोठामा लगेको पनि उनले सुनाए।
बिना कारण भुक्तानी रोक्दै आफूलाई मानसिक तनाव दिएको आरोप लगाउँदै अधिकारीले प्रमुख प्रशासकीय अधिकृतले आफ्नै निवासबाट नजिकका ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी दिने गरेको विषयमा छानबिन गर्न माग गरेका छन्।
भुक्तानी रोकिएको विषयमा सोधपुछ गर्न पुगेका सेवाग्राहीमाथि निवासमै मदिरा सेवन गरेर अपशब्द प्रयोग गरेको आरोप लागेका बोहरा शुक्रबार रातिदेखि नै वीरगञ्ज छाडेर गएको अधिकारीले बताए।
वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।
वीरगञ्जबाट काठमाडौं पुगेका बोहरालाई फोन गरेर भुक्तानी रोक्दै जनप्रतिनिधि, ठेकेदार, आपूर्तिकर्ता र उपभोक्ता समितिलाई किन हैरानी दिएको भन्ने प्रश्न गर्दा उनले ‘एकछिनमा कुरा गर्छु’ भन्दै फोन राखे र त्यसपछि सम्पर्कमा आउन चाहेनन् ।
वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले प्रमुख प्रशासकीय अधिकृत बोहराको कार्यशैलीका कारण भुक्तानी रोकिँदा दीपावली र छठसमेत प्रभावित बनेको आरोप लगाएका छन्। बोहराको कथित मनोमानी व्यवहारका कारण नगरवासी, ठेकेदार तथा तल्लो तहका कर्मचारीले समस्या भोग्नुपरेको चतुर्वेदीको भनाइ छ।
बालेन्द्र शाह नेतृत्वको सरकारकी सफल मन्त्रीका रूपमा चर्चा गरिएकी प्रतिभा रावलले स्थानीय तहमा भुक्तानी रोक्ने र सेवाग्राहीका काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै आए पनि बोहराले त्यसलाई बेवास्ता गरेको आरोप छ। मन्त्री रावलको छिमेकीसमेत रहेका बोहरा उनकै पहलमा वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको बताइन्छ। यही अवस्थाको फाइदा उठाउँदै उनले महानगरपालिकाको विकास निर्माणदेखि कार्यालय सञ्चालनसम्मका काम प्रभावित बनाएको आरोप लागेको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दीपावली र छठमा समेत नियमअनुसार गर्नुपर्ने भुक्तानी नभएको विषयमा आफूले बुझ्ने काम गरिरहेको बताएका छन्। शुक्रबार राति प्रमुख प्रशासकीय अधिकृत बोहराको क्वार्टरमा भएको घटनाबारे भने बोहरा वा अन्य कसैले आफूलाई जानकारी नगराएको सिंहले बताए।
विशेष नगरसभाबाट करिब १० करोड रुपैयाँ तत्कालै पुरानो बक्यौता भुक्तानी गर्ने गरी बजेट विनियोजन गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।