नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् ।
तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए ।
उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक मूल्य, मान्यता र विश्वासको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

‘समाज संविधानले भन्दा, कानुनले भन्दा, जेलनेलले भन्दा नैतिकताले चल्छ, इमानले चल्छ, समाजका प्रबन्ध र सामाजिक मूल्य–मान्यताले चल्छ,’ उनले भने ।
अध्यक्ष ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि समाज र सभ्यताका महत्त्वपूर्ण पक्ष लुकेको उनले बताए ।
मानिस सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि विभिन्न नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानाका परिकारको विकास गरेको उनले बताए ।
उनले हरेक चाडपर्वका आफ्नै विशेषता, परिकार, गीत र नृत्य हुने उल्लेख गर्दै खेतीपाती सुरु गर्ने समयदेखि बाली भित्र्याउने समयसम्मका विभिन्न अवसरलाई नेपाली समाजले चाडपर्वका रूपमा मनाउँदै आएको बताए ।
जन्म, विवाह, मृत्यु, सुख–दुःख तथा अप्ठ्यारा परिस्थितिमा समेत नेपाली समाज सामूहिक रूपमा सहभागी हुने परम्पराले संस्कृति र सभ्यता निर्माण गरेको उनले उल्लेख गरे ।
‘यी कुराहरूको असाधारण महत्त्व छ र हामीले यस्ता कुराहरूलाई निरन्तरता दिनुपर्छ । उल्लास र उत्साहका साथ मनाउँदै जानुपर्छ,’ उनले भने ।
अध्यक्ष ओलीले नेपाली मौलिक बाजागाजा र नृत्यको स्थान अन्य संस्कृतिका बाजा तथा नृत्यले लिन थालेको भन्दै चिन्ता व्यक्त गरे । अन्य देशका बाजागाजा र संगीत सिक्न तथा प्रयोग गर्न सकिने भए पनि आफ्ना मौलिक कला र संस्कृतिलाई विस्थापित गर्न नहुने उनले ।
उनले नेपाली नृत्यमा शारीरिक गतिविधि मात्र नभई हाउभाउ, आँखाको संकेत र खुट्टाको चालमार्फत भावसमेत अभिव्यक्त हुने विशेषता रहेको बताए ।
‘हाम्रा नृत्यहरूमा हाउभाउ छ । आँखाले यसो हेर्दा पनि संकेत हुन्छ, खुट्टाका चालहरूमा पनि भाव हुन्छ । हाम्रो कलामा कला मात्रै होइन, भाव पनि मिसिएको छ,’ उनले भने ।
नेपाली मौलिक बाजागाजा, ताल, गीतसंगीत र नृत्यको विशिष्टता रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।