ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ। बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी-घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न थालेका हुन्।

बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले जानकारी दिए। बाढिपहिरोले बाटो अवरुद्ध हुँदा शून्य अवस्थामा पुगेको घान्द्रुकको पर्यटन व्यवसाय अब चलयमान हुने आशा जागेको उनले बताए। ‘चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,’ उहाँले भन्नुभयो, ‘असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गर्नु भएको छ। अब केही हुन्छ की भन्ने आशा पलाएको छ।’

होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज बनेको सन्देश फैलाउन जरुरी रहेको बताए। ‘पर्यटक आउन सुरु गर्नुभएको छ तर तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुनसक्छ,’उनले भने, ‘धेरैले घान्द्रुकको बनेको छैन भनेर योजना क्यान्सिन पनि गर्नुभएको होला। अब हामीले बाटो सहज छ ढुक्कसँग घुम्न आउनुहोला भन्ने सन्देश प्रवाह गर्नुपर्नेछ।’

विज्ञापन

निरन्तरको वर्षाले विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बाटो सहज बनाएपछि पर्यटक घान्द्रुक पुग्न थाले पनि सोचेअनुरुप नभएको उनको भनाइ छ। ‘साउन भदौमा जस्तो पाहुना आउँदै नआएको त हैन्। तर अझै पर्याप्त छैन’, उनले भने, ‘मेरो होटलमा ४५ जनासम्म राख्न सक्छु। यो समयमा अघिल्ला वर्षहरुमा भरिभराउ हुन्थ्यो तर यो पटक दैनिक पाँच सात मात्र जना आउनुभएको छ।’

बाटोसँगै मौसम खुलेपछि घान्द्रुकको पर्यटन व्यवसाय विस्तारै चलयमान हुँदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए। अहिले दैनिक रुपमा दुई देखि तीन सय पर्यटक घान्द्रुक पुग्ने गरेको उनले जानकारी दिए। ‘यो बेला पर्यटक आउने समय नै हो। यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो। सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थाल्नुभएको छ,’उनले भने, ‘पहिला पहिला यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था थियो। यो वर्ष विस्तारै बढ्ने क्रम जारी छ। अहिले दैनिक दुई तीन सय जना आउनुहुन्छ।’

अध्यक्ष गुरुङ पनि घान्द्रुकको बाटो सहज भएको सन्देश सबैसामु पुर्‍याउनुपर्ने बताउँछन्। ‘यो समय सबैभन्दा बढी नेपाली पाहुनाहरु आउने समय हो। निरन्तर वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा भए पनि खुलेको थाहा नहुन सक्छ,’उनले भने, ‘त्यसैले हामी घान्द्रुकवासीको एउटै आग्रह छ। मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोला हामी स्वागत गर्न तयार छौँ।’

अध्यक्ष गुरुङका अनुसार पर्यटकीय गाउँ घान्द्रुकमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ। पाहुना धेरै भएको खण्डमा गाउँकै घरहरुमा पनि व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए। ‘घान्द्रुकमा अहिले होटल ९५ वटा र ४५ वटा होमस्टे छन्। यी होटल तथा होमस्टेमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ,’उनले भने, ‘पाहुना धेरै भएको खण्डमा व्याक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ। गाउँ आएको पाहुना फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता छ।’ रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।