प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समुन्नत नेपालको ‘आर्थिक मार्गचित्र’ प्रस्तुत गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले सोमबार काठमाडौंमा जारी पार्टीको १५औं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा आर्थिक मार्गचित्र प्रस्तुत गरेका हुन्। मार्गचित्रमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहक मानेर उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ।
थापाले प्रस्तुत गरेको मार्गचित्रमा अर्थतन्त्रलाई ‘निजी क्षेत्रमैत्री’, ‘फराकिलो आर्थिक वृद्धिउन्मुख’ र ‘सामाजिक न्यायकेन्द्रित’ तीन स्तम्भमा आधारित बनाउने उल्लेख छ। निजी क्षेत्रलाई समृद्धिको मुख्य इन्जिन मानेर नीतिगत स्थिरता, स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्ने कांग्रेसको प्रस्ताव छ।

कांग्रेसका अनुसार सरकार आफैं व्यापारी वा बजारको नियन्त्रक बन्नेभन्दा बजारको निष्पक्षता, स्वच्छता र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने कुशल तथा पारदर्शी नियामकको भूमिकामा रहनुपर्छ। निजी क्षेत्रले उत्पादन, सम्पत्ति र रोजगारी सिर्जना गर्ने तथा सक्षम राज्यले नागरिकको क्षमता अभिवृद्धि, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने अवधारणा मार्गचित्रमा अघि सारिएको छ। मार्गचित्रमा उच्च, दिगो, समावेशी र आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि हासिल गर्न ‘प्रो–ग्रोथ’ नीति अवलम्बन गर्ने उल्लेख छ। युवालाई श्रम बजारका कामदारका रूपमा मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने नीति कांग्रेसले अघि सारेको छ।
कांग्रेसले आफ्नो आर्थिक दृष्टिकोणको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवाद रहेको जनाएको छ। पार्टीका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादले आर्थिक वृद्धिको अंकगणितभन्दा नागरिकको जीवन, मानवीय गरिमा, सहभागिता र अवसरलाई विकासको केन्द्रमा राखेको कांग्रेसको दाबी छ।
‘हामी बिपीद्वारा प्रस्तुत हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात् गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रविन्दुमा राखेका छौं’, थापाले भने। कांग्रेसले बिपीको समयको मुख्य चुनौती भूमिसुधार, निरक्षरता उन्मूलन र ग्रामीण पछौटेपनसँग जुध्नु रहेको उल्लेख गर्दै अहिले वैदेशिक पलायन, कमजोर उत्पादकत्व, आयात निर्भरता, प्रविधि र सिपबिचको खाडल तथा सामाजिक सुरक्षाको दायित्वजस्ता संरचनात्मक समस्या प्रमुख बनेको जनाएको छ। यस्ता चुनौतीलाई परम्परागत राज्य–नियन्त्रित साधनबाट मात्र समाधान गर्न सम्भव नरहेको कांग्रेसको निष्कर्ष छ।
कांग्रेसले न्यायमूलक अर्थतन्त्रअन्तर्गत न्यून आय भएका तथा सीमान्तकृत समुदायलाई आर्थिक विकासको प्रतिफल प्राप्त गर्ने समूहका रूपमा मात्र नभई उत्पादन र सम्पत्ति सिर्जनाका सक्रिय साझेदार बनाउने जनाएको छ। उनीहरूलाई उत्पादक र सम्पत्तिको मालिक बनाउन विशेष आर्थिक अवसर, क्षमता विकास, रोजगारी तथा लक्षित संरक्षणका कार्यक्रम सञ्चालन गर्ने मार्गचित्रमा उल्लेख छ। कांग्रेसले कुल गार्हस्थ्य उत्पादनको अंकगणितीय वृद्धिलाई मात्र आर्थिक सफलताको मापदण्ड नमान्ने जनाएको छ। नागरिकको जीवनस्तरमा आएको सुधार, मर्यादित रोजगारीको सिर्जना र देशभित्रै फराकिलो आर्थिक अवसर निर्माणलाई समेत आर्थिक विकासको महत्त्वपूर्ण आधार मानिएको छ।
‘सैद्धान्तिक मूल्यमा निरन्तरता र साधनमा समयानुकूलता’ कांग्रेसको आर्थिक दर्शनको मूल मर्म रहेको मार्गचित्रमा उल्लेख छ। उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रका तीन स्तम्भलाई आर्थिक नीतिको आधार बनाउँदै समुन्नत नेपाल निर्माण गर्ने लक्ष्य कांग्रेसले अघि सारेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।