पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।
संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र पठाउँदै हवाइ रुट प्राप्तिसँगै भारतीय सहरमा सिधा उडान भर्न तथा ती सहरबाट पोखरामा पर्यटक भित्र्याउनका निम्ति आवश्यक पहल गर्नका लागि पनि उद्योग वाणिज्य महासंघमार्फत् भारतको निजी क्षेत्रसँग पहल गर्न सुझाएके छ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्याललाई प्रेषित गरेको ध्यानाकर्षण पत्रमा पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माण र संचालनको लागि गरेको लामो आन्दोलन र पैरवीको स्मरणसमेत गराएको थियो।

‘भ्रमणको क्रममा देशको आर्थिक हित, द्विपक्षीय व्यापार, उर्जा, पारवहन तथा थप हवाइ रुटबारे विभिन्न सहमति हुने हाम्रो जानकारीमा आएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ,‘ भ्रमणको एजेण्डामा पोखरा–भैरहवा द्रूतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरमा सिधा उडानका एजेण्डा समावेश भएकोमा हामी खुसी छौं। यी एजेण्डामा मित्रराष्ट्र भारतले सदासयता देखाउने विश्वास पनि छ।’ नेपालको तर्फबाट प्रस्तुत हुने हवाइ रुट प्राप्ति र द्रुतमार्ग निर्माणको हाम्रो सपना पुरा हुनेछ विश्वस्त रहेको पनि संघको भनाई छ।
ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्ली लगायतका सहरमा सिधा उडान हुन सकेको छैन। भ्रमणको क्रममा ती अप्ठेरा फुक्नेमा आशावादी छौं।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन नहुँदा विभिन्न शंका आशंका बाहिर आइरहेको पनि संघको भनाई छ। ‘हामी यो विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान भएको देख्न आतुर छौँ। विमानस्थलको दिगो संचालनबाट समग्र गण्डकीको समृद्धि हुनेछ।’
पोखराबाट भारतीय सहरमा सिधा उडानका निम्ति सजिलो हवाइ मार्गको अनुमति प्राप्त हुन नसकेको र त्यसल वायुसेवा कम्पनिलाई पोखरामा आकर्षित गर्न नसकिएको पनि संघको भनाई छ। ‘छोटो र इन्धन कम खपत हुने हवाइ मार्ग उपलब्ध नहुँदा यहाँबाट भारतको वाराणसी, दिल्लीलगायतका सहरमा सिधा उडान हुन सकेको छैन,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अहिले फेरो घुमेर जहाज अवतरण गर्नुपर्ने अवस्था रहेको छ।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।