नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।
चन्दननाथ नगरपालिकाकी प्रथम मेयर तथा पूर्व प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले केन्द्रीय सदस्य (खुला महिला) तर्फ उम्मेदवारी दिएकी हुन्। यस्तै, चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पनि केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेकी छन्।
वि.सं. २०४२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेकी सेजुवालले कांग्रेसको महासमिति सदस्य, केन्द्रीय सदस्य र संघीय प्रतिनिधिसभा सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। स्थानीय तहदेखि संघीय संसद् र पार्टीको केन्द्रीय तहसम्मको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधार बनाएकी छन्।

चार दशक लामो राजनीतिक, सामाजिक तथा शैक्षिक अनुभवलाई महिला नेतृत्व विकास, कर्णालीको प्रतिनिधित्व र समावेशी कांग्रेस निर्माणमा उपयोग गर्ने सेजुवालको भनाइ छ। कर्णालीका मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने तथा महिला नेतृत्वलाई थप सशक्त बनाउन उनको दाबी छ।
यता, चन्दननाथ नगरपालिकाकी उपप्रमुख खड्काले पनि केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेकी छन्। कांग्रेसको विशेष महाधिवेशनबाट कर्णाली प्रदेशतर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी खड्काले ‘सुदृढ र रूपान्तरित कांग्रेस’ निर्माण गर्ने संकल्पसहित पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन्।
१५औँ महाधिवेशनका लागि जुम्लाबाट कुल ४४ जना प्रतिनिधि सहभागी छन्। तीमध्ये ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने आठ स्थानीय तहका सभापति र दुई क्षेत्रीय सभापतिसहितको प्रतिनिधित्व रहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।